सहमितका लागि सक्रिय भए सूर्यबहादुर र सिटौला

काठमाण्डौ, ११ माघ । सत्तापक्ष र प्रतिपक्षवीच मुठभेडको स्थिति देखापरेपछि पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाले  मेलमिलापका लागि सक्रियता देखाएका छन् । पूर्वप्रधानमन्त्री थापाले शनिबार प्रधानमन्त्री सुशील कोइरालालाई भेटेर आफूले सहमतिको पहलकदमी लिने बताएका थिए । त्यसपछि थापाले केपी ओली, प्रचण्ड र विजय गच्छदारलाई अलग-अलग भेटेर त्यसको रिपोर्टिङ प्रधानमन्त्रीलाई गराएका थिए ।

सूर्यबहादुरको पहलपछि प्रधानमन्त्री सुशील कोइरालाले शनिबार साँझ राष्ट्रपति डा. रामवरण यादवलाई भेटेका थिए ।

उता कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले पनि शनिबार लाजिम्पाटमा एमाओावदी अध्यक्ष प्रचण्डसँग भेट गरेका छन् । स्रोतहरुका अनुसार भारतले केही दिन संविधानसभाको बैठक रोकेर सहमति गनुपर्ने दबाव सत्तापक्षका नेताहरुलाई दिएको बुझिएको छ । विपक्षी १९ दलीय मोर्चाले पनि शनिबार सभाध्यक्ष सुवास नेम्वाङलाई भेटेर सहमतिका लागि १० दिन बैठक स्थगित गर्न माग गरेको छ ।

आइतबार संविधानसभा बैठकमा प्रश्नावलीका बनाउने प्रस्ताव समिति गठन गर्ने सभाध्यक्ष नेम्वाङको तयारी छ । विपक्षीले यसको प्रतिकार गर्ने र संविधानसभा बहिस्कार गर्नेसम्मको धम्की दिएका छन् । विपक्षीसँग वार्तामै नबस्ने घोषणा गरेका सत्तापक्षमा नेताहरु भने जबरजस्ती प्रक्रिया अघि बढाउने पक्षमा छन् ।