लन्डन– सधैँ विभिन्न खाले कार्यक्रम भइरहने लन्डनस्थित नेपाली दूतावासमा शुक्रबार भने फरक आवाज गुन्जिए ।
नेपाल र बेलायतबीच दौत्य सम्बन्ध स्थापनाको द्विशतवार्षिकी पूरा भएको उपलक्ष्यमा बेलायतस्थित नेपाली दूतावासले साहित्यिक कार्यक्रम गर्यो । कार्यक्रममा साझा प्रकाशनबाट प्रकाशित विभिन्न पुस्तक प्रदर्शनी आयोजना गरेको छ । प्रदर्शनी तीन दिनसम्म चल्नेछ । प्रदर्शनीमा विभिन्न तीन हजार पुस्तक समावेश गरिएका छन् ।
प्रदर्शनीमा पूर्वउपप्रधान एवं परराष्ट्रमन्त्रीसमेत रहेका माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका नेता जितेन्द्र देव सहभागी भए । उनीहरुले सरकारी निकायबाट भएका प्रयासको प्रशंसा गर्दै यस्ता कार्यले नेपाल र बेलायतबीचको दौत्य सम्बन्ध थप विस्तार हुने विचार व्यक्त गरे ।
साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले दूतावासले आफ्नो संस्थालाई स्थान दिएर साहित्यिक कार्यक्रम आयोजना गरेकामा आभार व्यक्त गरे ।
बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले साझा प्रकाशन र नेपालका साहित्यिक कृतिलाई युरोपका अन्य मुलुकमा पनि लैजान आफूले पहल गर्ने बताए । कार्यक्रमा राजदूतको सम्पादनमा प्रकाशित ‘बेलायतमा नेपाली कवि र कविता’ पुस्तकको विमोचन पनि गरिएको थियो ।
कार्यक्रममा बेलायतका करिब ४ दर्जन बढीले कविता वाचन गरेका थिए भने डा. माइकल हट र बासु शर्माले नेपाली साहित्य सम्वन्धि कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा नाटक जीगिसा मञ्चन गरियो ।






