काठमाडौँ– स्वास्थ्यन्त्री गगन थापाले राजदूत सिफारिशमा परेका १४ मध्ये २ महिलाको नाम फिर्ता लिइएको भन्नेबारे आफूलाई कुनै जानकारी नभएको बताएका छन् ।
राजधानीमा सोमबार आयोजित एक कार्यक्रममा उनले भने, ‘फिर्ता लिइएको बारे मलाई अहिले कुनै जानकारी आएको छैन, अब बस्ने बैठकपछि मात्रै भन्न सकिन्छ ।
राजदूत सिफारिशबारे के भन्नुहुन्छ भन्ने प्रश्नमा उनले भने,‘राजदुत सिफारिश गर्दा एकैचोटी नाम पेश भयो, यसबारमो अनुभवी मन्त्रीज्यूलेपनि प्रश्न उठाउनुभएको हो, एकैचोटी नाम आएपछि प्रश्नहरु उठाउनुभएकै हो, नाम, विवरण र योग्यता के हो? भनेर विस्तृत अध्ययन गर्न दिइएन।’ उनले अब बस्ने मन्त्रपरिषद् बैठकमा यसबारे कुरा उठाउने समेत बताए ।
अर्को प्रसंगमा उनले आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्न नसके सरकारको औचित्य समाप्त हुने बताए ।
उनले भने,‘यो सरकार नै आगामी ०७४ माघ ७ गतेभित्रै तीन तहको निर्वाचन गर्न गठन भएको हो, निर्वाचन नै गर्न नसक्ने अवस्था आयो भने सरकारको औचित्य समाप्त हुन्छ, यो कुरा स्वयम प्रधानमन्त्रीले नै भन्नुभएको छ, त्यसैले हामी निर्वाचन सफल बनाउन खरो उत्रिन्छौं ।’
उनले घोषित मितिमै स्थानीय तहको निर्वाचन गर्ने कुरामा सरकार अलमलमा नरहेको जिकिर गर्दै भने,‘बैशाख ३१ गते नै निर्वाचन हुन्छ, सरकार अलमलमा छैन, निर्वाचन गराउन नसक्ने हो भने सरकारको औचित्य समाप्त हुन्छ, सरकार हुनुको अर्थ हुँदैन, सरकार लम्ब्याउने र तन्क्याउनेको अर्थ हुँदैन ।’
मन्त्री थापाले भने, ‘सरकारले संसदमा टेबुल गराएको संविधान संशोधन प्रस्तावलाई पारित गराउनका लागि हामी हरसम्भव राजनीतिक प्रयास गर्छौं, यसको बावजुदपनि भनेजस्तो निश्कर्ष निस्कने सकेन भनेपनि सबै दल निर्वाचनमा जान उत्साहित हुनुपर्छ, निर्वाचन आफूलाई पुष्टि गर्ने मौका हो ।’
मन्त्री थापाले मधेसी असन्तुष्ट दलहरु संविधान संशोधन गर्ने पक्षमा लाग्नुपर्ने बताउँदै संशोधन प्रस्ताव पारित नभए त्यहि एजेण्डालाई निर्वाचनमा लैजान आग्रह समेत गरे ।






