अब एमालेको फोटो हेलिकप्टरबाट होइन, चन्द्रमामा गएर खिच्नुपर्छः केपी ओली

काठमाडौं– एमाले अध्यक्ष केपी शर्मा ओलीले तराईमा आफ्नो पार्टी कमजोर रहेको भनि हल्ला गर्नेहरुलाई आगामी फागुन २१ गते देखाइदिने बताएका छन् ।
एमालेले फागुन २१ गतेदेखि ‘मेची महाकाली राष्ट्रिय अभियान’ सञ्चालन गर्दै छ । उक्त अभियानका क्रममा मधेसका १५ जिल्लामा करिब १५ लाख मानिस बढी मान्छे उत्रिने दाबी गर्दै ओलीले त्यसपछि एमाले मधेसमा कमजोर रहेको भनि हल्ला गर्नेहरु चुप लाग्ने बताए ।

प्रधानमन्त्री हुँदादेखिनै काल्पनिक अभिव्यक्ति दिने गरेको भनि आलोचना खेप्दै आएका ओलीले आज पनि त्यस्तै अभिव्यक्ति दिए ।

युवा संघको केन्द्रीय समिटीको बैठकमा बोल्दै उनले भने, ‘ तराईमा एमाले कमजोर रहेको भनि हल्ला गर्नेहरुलाई फागुन २१ गते देखाइदिन्छौं । त्यो र्यालीको फोटो खिच्न फोटो पत्रकारहरुले सामान्य क्यामरा होइन, हेलिकप्टरको प्रयोग गर्नुपर्ने हुन्छ ।’ अगाडि भने, ‘ड्रोनले त एमालेको विशाल भीडको फोटो खिच्नै सक्दैन, बरु हेलिकप्टरले भ्याएन भने स्पेस (चन्द्रमा) मानै पुगेर खिच्नुपर्ने हुन्छ !’

यसअघि ओलीले पुस २२ गते राजधानीमा भएको शक्ति प्रदर्शनका क्रममा अब एमालेको भीडको फोटो ड्रोनले नभई स्याटलाइटबाट खिच्नुपर्छ भनि अभिव्यक्ति दिएका थिए ।
माओवादीविरुद्व खनिए
सो अवसरमा माओवादी केन्द्र तथा सरकारविरुद्ध आक्रामक भएका ओलीले सरकारले चुनावै नचाहेको आरोप लगाउँदै बारम्बार हुनै नसक्ने संशोधनको कुरा मात्रै गर्ने गरेको बताए ।

वर्तमान प्रचण्ड नेतृत्वको सरकारले विदेश नीति नै नबुझेको दाबी गर्दै ओलीले सो बारेको छलफलमा बोलाइएको भएपनि सहभागि नभएको बताए । ‘ एमालेलाई बोलाइएको थियो तर हामीले आफ्नो कद घटाउन चाहेनौं’, ओलीले भने ।
‘यो सरकार अपवित्र, दक्षिणपन्थी, अप्राकृतिक र राष्ट्रिय हित विपरित हित गर्ने पार्टी हो’, ओलीले थपे, ‘सरकार तराई–पहाडलाई टुक्रा्याएर एक बनाउँछु भन्छ । प्रधानमन्त्रीबाट अरु (मन्त्रीहरु)ले पनि भ्रम र झुट बोल्न सिके । अरुले पनि त्यसै भन्न थाले ।’

सरकार निर्वाचनको कुरा गर्दैन संशोधनको कुरा गर्छ भन्दै ओलीले भने, ‘ भूकम्प पीडित पाल मुनि बसेका छन् । तर सरकार पुर्ननिर्माण प्राधिकरणमा आफ्नो मान्छेमात्रै भर्ना गर्न तल्लिन छ । सरकारले पुर्ननिर्माण प्राधिकरणलाई सहयोग गरेन । बरु त्यहाँ भएको मान्छेलाई पनि हटाउने काम गर्यो ।’
उनले पुर्ननिर्माण तालिममा पनि माओवादीलाई मात्रै सहभागि गराउने गरिएको आरोप समेत लगाए ।

देशको माटो मलिलो भएको भन्दै उनले यहाँ सबै जातजाती र भाषाभाषीको बसोबास रहेकोले यसलाई कसैले पनि बिगार्न नहुने ओलीले जोड दिए । ‘अरु देशको माटोमा एउटा भगवान जन्मिन पनि वर्षौँ कुनुपर्छ, तर हाम्रोमा भगवानै भगवान छन् । हामी विधिधता र एकता रहेका छन् ’, ओलीले भने ।

आफूहरुले राष्ट्रियताको पक्षमा बोल्दा केहि व्यक्तिहरु एमाले भारतविरुद्ध लाग्यो भन्न लैनचौर जाने गरेको दाबी समेत ओलीले गरे ।