सीके राउत समातिए, राज्य विप्लव मुद्धा लगाइने

काठमाडौं– स्वतन्त्र मधेस अभियान चलाइरहेका सीके राउतलाई प्रहरीले पक्राउ गरेको छ ।

बिहीबार दिउँसो जनकपुर माछाबजार नजिकै कोठामा छापा मारेर प्रहरीले राउतलाई पक्राउ गरेको हो । माघ ५ गते राउतले सिराहाको लाहानमा सभा गर्दै देश टुक्राउने अभिव्यक्ति दिएका थिए ।

यो घटनापछि जिल्ला प्रहरी कार्यालय सिरहाले उनको नाममा पक्राउ पूर्जी जारी गरेको छ । उनलाई सिराहा नै पठाइने जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

स्रोतका अनुसार राउतविरुद्ध राज्य विप्लवको मुद्दा लगाउने तयारी छ । यो मुद्दा चलाउन काठमाडौंस्थित विशेष अदालत ल्याउनुपर्छ ।

राज्य विरुद्धको अपराध र सजाय ऐन २०४६ मा उल्लेखित राज्य विप्लवको अपराध वा उद्योग गरेको ठहरिए राउतलाई जन्मकैद वा १० वर्षसम्म कैद सजाय हुन्छ ।