काठमाडौं– संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवले संसदमा दर्ता भएको संविधान संशोधन बिधेयक काम नलाग्ने भएको टिप्पणी गरेका छन् ।
बिहीबार काठमाडौंमा भएको साक्षात्कारमा बोल्दै संयोजक यादवले भने,‘संशोधन विधेयक काम नलाग्ने छ, यो पारित गरेपनि वा नगरेपनि काम छैन, यसले समस्याको निकास दिँदैन । ’ यादवले संसदमा दर्ता भएको विद्येयक काम न काजको भएको समेत टिप्पणी गरे । उनले अघि थपे, ‘यो विधेयक पास गरेपनि केहि हुनेवाला छैन, फेल भएपनि केहि हुदैन ।’
संघीय समाजवादी फोरम नेपालका समेत अध्यक्ष रहेका संयोजक यादवले अहिले आँफैले बनाएको संविधान आँफै उल्लंघन गर्ने काम भैरहेको समेत आरोप लगाए । यादवले भने,‘अहिलेको सरकारले आफूले बनाएको संविधान आँफै उल्लंघन गर्ने काम गरिरहेका छ, संविधानमा २५ जनाभन्दा बढि मन्त्री बनाउन नपाउने व्यवस्था छ, तर अहिले ४३ सदस्य पुगिसके, अझै ६/७ जना लाईनमा बसिरहेका छन् ।’
स्थानीय तह पूर्नसंरचना आयोगले अघि सारेको प्रतिवेदन आफूहरुलाई स्वीकार्य नभएको जिकिर गर्दै यादवले भने ‘५२ प्रतिशत जनसख्या ओगटेको तराईमधेशमा मुस्किलले २५ प्रतिशत छ, यो न्यायोचित होईन, संरक्षित क्षेत्र, विशेष क्षेत्र र स्वायत्त क्षेत्रको पनि कुरै छैन, अनि कसरी चुनाव गराउने ? ’






