एमालेले बनायो तराई झर्ने योजना

काठमाडौं – प्रमुख विपक्षी दल एमालेले अध्यक्ष केपी ओलीसहित शीर्ष नेताको अगुवाइमा तराईमा मेची–काली राष्ट्रिय अभियान सञ्चालन गर्ने घोषणा गरेको छ । स्थायी समितिले २१ फागुनबाट १५ दिनसम्म लगातार तराईमा ठूला प्रकृतिका ३० देखि ३५ वटासम्म जनसभा, प्रदर्शन र र्‍याली गर्ने निर्णय गरेको छ ।

पार्टी कार्यालय धुम्बाराहीमा आइतबार बसेको स्थायी समिति बैठकले अभियान सञ्चालनको निर्णय गरेको हो । पूर्व–पश्चिम राजमार्गका सबै सहरमा एकदेखि दुई घन्टाको दूरीमा लगातार जुलुस र आमसभा आयोजना हुँदा दुई साताबीचमा लाखौँको सहभागिता रहने एमालेको दाबी छ ।

एमालेले गत मंसिरबाट फागुन पहिलो सातासम्म राष्ट्रिय जागरण अभियानअन्तर्गत आमसभा र जनपरिचालन गरिरहेको छ । फागुन तेस्रो साताबाट सुरु हुने पछिल्लो अभियानलाई चुनावकेन्द्रित शक्ति प्रदर्शनका रूपमा जोड्न खोजेको छ ।

जागरण अभियानअन्तर्गत एमालेले झापा, सुनसरी, मोरङ, सप्तरी, जनकपुर, बुटवल, धनगढी, नवलपरासीलगायतका स्थानमा आमसभा गरेको थियो ।

काँकडभिट्टाबाट महेन्द्रनगर हुँदै सुर्खेतमा समापन
इलामको सुखानीको जंगलमा तत्कालीन पञ्चायत सरकारले २१ फागुनमा हत्या गरिएका आफ्ना पाँच नेताको स्मृतिलाई एमालेले ‘सहिद दिवस’का रूपमा मनाउँदै आएको छ । सोही दिन अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने अभियान काँकडभिट्टाबाट महेन्द्रनगर हुँदै सुर्खेतमा पुगेर समापन हुने केन्द्रीय सचिवालय सचिव प्रदीप ज्ञवालीले बताए ।