काठमाडौं – जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका अनुसार शनिबार यस वर्षकै चिसो भएको छ । शनिबार काठमाडौंको न्यूनतम तापक्रम शून्य दशमलव ४ डिग्रीसम्म पुगेको छ ।
पश्चिमी वायुको प्रभावले देशभर अझै चिसो बढ्न सक्ने जल तथा मौसम विज्ञान विभागका मौसमविद् सुजन सुवेदीले बताए ।
‘पानी पर्ने सम्भावना बढेकाले अझै चिसो हुन सक्छ,’ सुवेदीले भने, ‘कति डिग्रीसम्म तापक्रम झर्छ भन्ने अनुमान गरिएको छैन । तर, चिसो बढ्न सक्छ ।’
सुवेदीका अनुसार पश्चिमी वायु बिस्तारै पश्चिम नेपाल हुँदै पूर्वतिर गएकाले मध्य र पूर्वी नेपालका पहाडी जिल्लामा छिटफुट वर्षा हुन सक्नेछ । पश्चिम नेपालका केही ठाउँमा पनि वर्षा हुनसक्ने अनुमान छ ।
शनिबार कहाँ कति तापक्रम ?
काठमाडौंमा शनिबार अधिकतम १६ दशमलव ४ डिग्री र न्यूनतम शून्य दशमलव ४ डिग्रीसम्म तापक्रम पुगेको छ । गत वर्ष पनि काठमाडौंको तापक्रम शून्यमा झरेको थियो । हिमाली क्षेत्र जुम्लामा अधिकतम १९ दशमलव ४ न्यूनतम र न्यूनतम माइनस ८ डिग्रीसम्म पुगेको थियो । नेपालगन्जममा अधिकतम १८ दशमलव ८ र न्यूनतम २ दशमवलव ४ डिग्री थियो । विराटनगरमा अधिकतम २१ दशमलव ७ र न्यूनतम ५ दशमलव ४ डिग्री रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।






