सातै प्रदेशमा ग्यास भण्डारण क्षमता बढाइँदै

काठमाडौं – नेपाल आयल निगमले ६० हजार टन खाना पकाउने एलपीजी ग्यासको भण्डारण क्षमता बढाउने भएको छ ।

निगमले संघीय संरचनाअनुसार सातै प्रदेशमा रहने गरी ग्यासको भण्डारण क्षमता विस्तार गर्न लागेको छ ।

जुनसुकै बेला पनि ग्यासको आपूर्ति व्यवस्था सहज राख्नका लागि निगमले अन्य पेट्रोलियम पदार्थसँगै ग्यासको समेत भण्डारण क्षमता बढाउन लागेको हो ।

निगमका कार्यकारी निर्देशक गोपाल बहादुर खड्काले विभिन्न स्थानमा ६० हजार टन ग्यासको भण्डारण बढाउन लागिएको बताए ।

”पहिलो चरणमा धादिङमा १५ हजार टन क्षमताको भण्डारण स्थल निर्माण गर्न जग्गा खोज्ने काम भइरहेको छ ।” कार्यकारी निर्देशक खड्काले भने ”क्रमिक रुपमा अन्य स्थानमा भण्डारण स्थल निर्माण प्रक्रिया अगाडि बढ्दै जान्छ ।”