युरोपभर आक्रमणको डर

ब्रसेल्स (एजेन्सीहरू) ४ माघ । विभिन्न देशमा आक्रमण तयारीका सूचना पाएपछि युरोपभर सुरक्षा सतर्कता उच्च बनाइएको छ। बेल्जियम, फ्रान्स र जर्मनीमा २० जनाभन्दा बढी शंकास्पद व्यक्ति पक्राउ परेका छन्।

युरोपका प्रायः मुलुकमा सुरक्षा गस्ती तीव्र पारिएको छ। फ्रान्सले जस्तै बेल्जियमले पनि प्रहरीसँगै सेना परिचालन गरेको छ। पेरिसमा गत साता १७ व्यक्तिको हत्या भएपछि आक्रमण/प्रतिआक्रमण बढेका छन्। यसले सर्वत्र त्रास बढाएको छ।

बेल्जियममा ५ जनालाई आतंकवादी गतिविधिमा लागेको अभियोग अघि बढाइएको छ।

त्यहाँ बिहीबार साँझ सुरक्षा कारबाहीमा दुई शंकास्पद व्यक्ति मारिएका थिए। एकलाई घाइते अवस्थामा पक्राउ गरिएको थियो। तीसहित १३ जना पक्राउ परिसकेका छन्। उक्त कारबाहीमा हतियार, विस्फोटक पदार्थ र प्रहरी पोसाक बरामद गरिएको थियो।

‘तिनीहरूले सडक र चौकीहरूमा थुपै्र प्रहरीको हत्या गर्ने योजना बनाएको अनुसन्धानमा खुलेको छ,’ अभियोजन कार्यालयका अधिकारी एरिक भान डेर सिटले भने। शंकास्पद आतंककारीको सामना गर्न बेल्जियम सरकारले कडा रणनीतिहरू अख्तियार गरेको छ।

पेरिसको आक्रमण र बेल्जियमको आतंकवादी सक्रियताबीच कुनै सम्बन्ध देखिएको छैन। तैपनि दुवै मुलुकले उस्तैखाले चुनौतीको सामना गरिरहेको फ्रान्सेली प्रधानमन्त्री म्यानुअल भाल्सले बताए। ‘हाम्रा मान्यताहरूमा आक्रमण गर्ने मनसायले दुवै घटनाका सम्बन्धलाई छर्लंग पार्छ,’ उनले भने। प|mान्समा गत साता १७ जनाको ज्यान लिएको घटनामा १२ शंकास्पद प्रहरी नियन्त्रणमा छन्। उनीहरूसँग शार्ली एब्डोमाथि आक्रमण गर्नेलाई हतियार र बाहन उपलब्ध गराएकोबारे सोधपुछ भइरहेको छ।

फ्रान्स अहिलेसम्मकै सबभन्दा उच्च सतर्कतामा रहेको अधिकारीहरूले जनाएका छन्। फ्रान्सभर झन्डै १ लाख २० हजार प्रहरी र सेना परिचालित छन्। शुक्रबार बम आतंकपछि अधिकारीहरूले पेरिस पूर्वको रेल स्टेसनलाई बन्द र खाली गराएको थियो।

जर्मनी, नेदरल्यान्ड्स, स्पेनलगायतमा तत्काल आक्रमणको सुराक मिलेको छ। त्यसैले ती मुलुकले पनि सुरक्षा मजबुत बनाएका छन्। राजधानी म्याडि्रड भ्रमण गरिसकेका पेरिस बन्दुकधारी अमेडी कुलीबालीबारे स्पेनले अनुसन्धान सुरु गरेको छ। झन्डै २ सय ५० अधिकारीको प्रहरी टोलीले जर्मनीको ११ थलोमा छापा मारी दुई जनालाई पक्राउ गरेको छ।