संशोधन विधेयक पारित हुन दिन्नौँ : ओली

काठमाडौँ, २ पुस । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन विधेयक संसद्बाट पारित गर्न नदिने बताउनुभएको छ ।

अखिल नेपाल बुद्धिजीवी सङ्घले ‘संविधान संशोधनको प्रस्ताव र राष्ट्रियताको प्रश्न’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उहाँले राष्ट्रिय हितलाई भविष्यमा खतरामा पार्ने भएकाले विधेयक संसद्बाट पास हुन नदिने बताउनुभयो ।

“विधेयकका कुनै पनि बुँदा समर्थन गर्न योग्य छैनन्”, उहाँले भन्नुभयो – ‘‘सबै बुँदामा देशलाई अहित गर्ने कुरा लुकेर बसेका छन् । त्यसैले विधेयकलाई संशोधन गरेर पास गर्ने अवस्था छैन ।’’

पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले विधेयक राष्ट्रियताको प्रश्नसँग जोडिएर आएकाले संसद्मा प्रवेश गर्न नदिएको स्पष्ट पार्नुभयो ।

‘‘विधेयक राष्ट्रियतालाई मजबुत नभई कमजोर बनाउने खालको छ”, उहाँले थप्नुभयो – “विधेयक राष्ट्रिय हितका पक्षमा नभएकाले संसद्मा प्रवेश नै गर्न नदिएका हौँ ।” उहाँले स्वच्छ, पवित्र मनसायले विधेयक दर्ता नगराएकाले नेपाल, नेपाली जनता र समयको मागअनुसार विधेयक नआएको बताउनुभयो ।