७० प्रतिशत समाचार राजनीतिक

नेपाली सञ्चारमाध्यममा ७० प्रतिशत समाचार राजनीतिक विषयवस्तुमा केन्द्रित हुने गरेको एक सञ्चार अनुगमनले देखाएको छ ।
अस्मिता प्रकाशन समूहले विसं २०७१ जेठ ८–२८ गते सम्म गरेको ‘नेपाली मिडियाका राजनीतिक समाचारमा लैङ्गिकता अनुगमन प्रतिवेदन’अनुसार राजनीतिक विषयवस्तुका समाचारमध्ये ७५ प्रतिशत समाचार पत्रिकाको पहिलो पृष्ठमा नै छापिने गरेको छ । यसैगरी रेडियो बुलेटिनमा ९० र टेलिभिजनमा ९२ प्रतिशत समाचार राजनीतिक विषयवस्तुका हुने गरेका छन् ।
समूहले आज यहाँ प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्रिय दैनिक ‘कान्तिपुर’, ‘नयाँ पत्रिका’, ‘गोरखापत्र’, ‘नागरिक’, ‘राजधानी’, ‘द हिमालयन टाइम्स’, ‘द काठमाडौँ पोस्ट’, ‘अन्नपूर्ण पोस्ट’ र ‘नेपाल समाचारपत्र’ तथा क्षेत्रीय पत्रिकामा ‘मेचीकाली’, ‘ब्लास्ट टाइम्स–पश्चिम नेपाल’, टेलिभिजनमा ‘एभिन्युज’, रेडियोमा ‘रेडियो नेपाल’, ‘क्यापिटल एफएम’लगायत २२ सञ्चारमाध्यममा अनुगमन गरिएको जानकारी दियो ।

सो अनुगमनमा राजनीतिक विषयवस्तुका समाचारमा पनि लैङ्गिक समानतासम्बन्धी समाचार नगण्य मात्रामा रहेको देखियो । यस्तै राजनीतिक समाचार तयार गर्नेमा ५२ प्रतिशत पुरुष तथा २।६ प्रतिशत मात्र महिला रहेको देखियो । समाचारमा समाचारदाताको नाम नभएकाले बाँकी समाचार तयार पार्नेको लैङ्गिक पहिचान हुन सकेको थिएन ।

सूचना विभागका महानिर्देशक लक्ष्मीविलास कोइरालाले मिडियामा लैङ्गिक समानतासम्बन्धी राष्ट्रिय नीति, आचार संहिता निर्माण र कार्यान्वयन गर्नेतर्फ ध्यान दिन आवश्यक रहेको बताए , प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्कीले महिलाले सञ्चालन गरेको सञ्चारमाध्यमलाई प्रोत्साहन गर्नेतर्फ आफू सचेत रहेको बताए ।

सञ्चारकर्मी गुणराज लुइँटेलले सञ्चारमाध्यममा महिलाका विषयलाई मुख्य रुपमा ल्याउन र महिला सञ्चारकर्मीमाथि सकारात्मक विभेदका लागि सम्पादन कक्षका प्रमुखलाई नै उत्प्रेरित गनुपर्ने बताए ।

कार्यक्रममा प्रेस चौतारीका अध्यक्ष राजेन्द्र अर्याल, क्रान्तिकारी पत्रकार सङ्घका अध्यक्ष गोविन्द आचार्य, समूहका अध्यक्ष इन्दु तुलाधर, समूहका मञ्जु थापालगायतले अझै पनि नेपाली सञ्चारमाध्यमले महिला, दलित, जनजातिलगायत समुदायका समाचारलाई प्राथमिकतामा राख्न नसकेको गुनासो गरे । रासस
– See more at: http://www.ratopati.com/2015/01/16/200136.html#sthash.omtrXFTb.dpuf