काठमाडौं– सत्तारुढ दल नेपाली कांग्रेसका प्रभावशाली नेता एवं पूर्वअर्थमन्त्री डा. रामशरण महत सरकारको कामकारबाहीप्रति असन्तुष्ट भएका छन् । उनले संविधान संशोधनमा सरकारले छलफल नै नगरेको भन्दै असन्तुष्टि जनाए ।
संविधानलाई लिएर असन्तुष्ट बनेको मधेस केन्द्रित दल लगायत अन्य पक्षहरुको माग पूरा गर्नको लागि सरकारले यथेष्ट छलफल नै नगरेको महतको आरोप थियो । काठमाडौंमा आइतबार आयोजित कार्यक्रममा उनले भने, ‘सरकार बनेको दुई महिना भैसक्यो, तर संविधान संशोधनवारे अहिलेसम्म कुनै छलफल नै भएको छैन, अरुसँग भए मलाई थाहा छैन, कमसेकम सत्तापक्षको हाम्रो दल काँग्रेससँग भएको जानकारी मलाई छैन ।’
महतले एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि संविधान संशोधनको लागि आफ्नो पार्टी बाधक नबन्ने तर संशोधनको औचित्य र आधार सरकारले प्रस्तुत गर्नुपर्ने स्पष्ट रुपमा राखिसकेकोले सरकारले त्यही बमोजिम गृहकार्य गर्नुपर्ने बताए । उनले थपे, ‘सरकारले सहमति जुटाउनुपर्छ, एमालेसँग त परै जाओस्, कांग्रेससँग त अहिलेसम्म यसबारेमा छलफल भएको छैन ।’
महतले सिमांकनको विवाद समाधानको लागि पनि दलहरुवीच राष्ट्रिय सहमति बन्नुपर्ने स्पष्ट पारे । यद्धपी उनले सिमांकनको विवाद मिलाउने नाममा जिल्लालाई यता र उता पार्ने गर्दा झनै विवाद हुने भए त्यसबारेमा सम्बन्धित जिल्लाका नागरिकरुलाइ जनमतसंग्रह गर्न दिनुपर्ने बताए । उनले थपे, ‘प्रान्तको झगडमा जिल्लालाई यता उता पार्ने काम हामीले गर्ने होईन, स्वयम त्यहीँका जनतालाई अधिकार दिनुपर्छ ।’






