कञ्चनपुर- कृषि मन्त्री गौरीशङ्कर चौधरीले स्थानीय निकायको निर्वाचन गराउनका लागि सरकारको ध्यान केन्द्रित भएको बताउनुभएको छ ।
कञ्चनपुरको पुनर्वास नगरपालिका–३ सीताबस्तीमा नवोदय जीवनशक्ति युवा क्लबले बिहीबारदेखि आयोजना गरेको चतुर्दशी मेलाको उद्घाटन गर्नुहँुदै उहाँले संविधान कार्यान्वयन गराउनका लागि स्थानीय निकायको निर्वाचन आवश्यक भएको बताउनुभयो ।
“निर्वाचनका लागि सरकार आन्तरिक गृहकार्यमा जुटेको छ”, उहाँले भन्नुभयो । आन्दोलनरत मधेसी र थारू समुदायसँग स्थानीय निकायको निर्वाचनको वातावरण बनाउनका लागि सरकार प्रयासरत रहेको उहाँले बताउनुभयो । मेला बिहीबारदेखि तीनदिनसम्म आयोजना हुनेछ ।
यसैबीच, मन्त्री चौधरीले भारतीय अतिक्रमणको चपेटामा परेको प्याराताल क्षेत्रको स्थलगत अवलोकन पनि गर्नुभयो । स्थानीय बासिन्दासँग सीमा क्षेत्रबारे जानकारी लिँदै उहाँले यसबारे मन्त्रीपरिषदमा कुरा उठाउने आश्वासन पनि दिनुभयो । भारतीय जङ्गली हात्तीले पु¥याउँदै आएको क्षतिबारे आफू जानकार भएको उल्लेख गर्नुहँुदै उहाँले हात्ती नियन्त्रण गर्न र कृषकलाई क्षतिपूर्ति रकम उपलब्ध गराउनका लागि कार्य अगाडि बढाइने बताउनुभयो ।
पुनर्वास नगरपालिका–१२ मा सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको आङ्गिक कृषि क्याम्पस स्थापनाका लागि सक्दो पहल गर्नुपर्ने उहाँले बताउनुभयो ।
पुनर्वास नगरपालिकाकै जीवनशक्ति निम्न माध्यमिक विद्यालयले रु २० लाखभन्दा बढीको लगानीमा निर्माण गरेको पौडीपोखरीको निरीक्षण गर्नु हँुदै उहाँले सरकारका तर्फबाट सहयोगका लागि पहल गर्ने पनि प्रतिबद्धता व्यक्त गर्नुभयो ।






