दसैँअगाडि नै संशोधन प्रस्ताव : प्रधानमन्त्री

काठमाडौँ, ११ असोज । संविधानमा असन्तुष्टि जनाउँदै आएका तराई–मधेस केन्द्रितको माग सम्बोधन गर्न सरकारले शीघ्र संविधान संशोधनको प्रक्रिया अगाडि बढाउने भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरामा आज भएको मधेसी मोर्चासँगको बैठकमा सरकार र मोर्चाका नेता संविधान संशोधनको प्रक्रिया चाँडो अगाडि बढाउन सहमत भएका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल र उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिसहित मधेसी मोर्चाका नेताको बैठकले दसैँअगाडि नै संशोधनको प्रस्ताव अगाडि बढाउने सहमति भएको जनाएका हुन् ।

बैठकपछि प्रतिक्रिया दिँदै प्रधानमन्त्रीका प्रमुख सल्लाहकार चक्रपाणि खनालले मधेसी मोर्चासँगको वार्ता सकारात्मक भएको उल्लेख गर्दै संशोधनको प्रक्रियालाई चाँडो अगाडि बढाउन सहमति जनाइएको बताउनुभयो ।

उहाँले भन्नुभयो–“संशोधन प्रस्तावका विषयमा नेकपा (एमाले)सँग पनि छलफल पुगेर दसैँअगाडि नै बढाउने भन्ने विषयमा सहमत भएको हो, प्रधानमन्त्रीको पछिल्लो अवस्थाबारे जानकारी गरेपछि उहाँहरु सकारात्मक हुनुभयो ।”

त्यसैगरी सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो तीनबुँदे प्रस्ताव किन दर्ता भएन र त्यसको कार्यान्वयन कहिले हुन्छ भन्ने विषयमा प्रधानमन्त्रीसँग छलफल गरेको बताउनुभयो ।