स्कुल पढ्दापढ्दै प्रेममा पोख्त

pyakuli-virus

काठमाडौ  २ माघ । हास्य टेलिचलचित्र ‘मेेरी बास्सै’मा लोग्नेमान्छे देख्नेवित्तिकै पट्याइहाल्ने एक युवती छिन् । सिरियलमा ‘प्याकुली भाइरस’ भनेर चिनिनने यी युवती वास्तविक जीवनमा चाँहि अलि फरक छिन् । सिरियलमा ‘प्याकुली भाइरस’ भनिए पनि उनको खास नाम जानुका केसी हो । उनी सिन्धुपाल्चोकको ठोकर्पामा बस्छिन् ।

मेरी बास्सैमा लोग्नेमान्छे देख्नेबित्तिकै टाँसिने गरेकी प्याकुलीको रिल लाइफचाँहि रियल लाइफभन्दा अलि फरक छ । ‘सिरियलमा त अभिनय हो, जे पनि गरिन्छ, रियलमा कहाँ त्यस्तो हुन्छ र ? म त सभ्य बुहारी हुँ, सासू ससुरालाई रिझाएर बसेकी छु,’-अनलाइनखबरसँग कुरा गर्दै जानुकाले भनिन् ।

सिन्धुपाल्चोक ठोकर्पाकी जानुका सुटिङको काम पर्दामात्रै काठमाडौ आउँछिन्, नत्र गाँउतिरै बस्छिन् । ‘म त अहिले गाउँतिरै छु, सुटिङ पर्‍यो भने बोलाउनुहुन्छ, जान्छु, अरुबेला घरतिरै हुन्छु,’ प्याकुलीले अनलाइनखबरसँग भनिन् ।

घरमै बस्नुको खास कारण बताउँदै जानुकाले भनिन् ‘दुई वर्षको सानो बच्चा भएकाले घरमै छु, घरमै हुँदा बच्चालाई छाडेर सुटिङमा जान सजिलो हुन्छ ।’ श्रीमान पनि जागिरे भएकाले आफूले घर छाड्न नसकेको जानुकाको भनाइ छ ।

स्कुल पढ्दै प्रेममा पोख्त

सिन्धुपाल्चोकमै रहेको बाघभैरब हाइअर सेकेण्डरी स्कुल पढेकी जानुका प्रेम गर्न भने सानैदेखि सिपालु थिइन् । प्रेमपछि विवाह गरेकी जानुकाले आफ्ना श्रीमानलाई स्कुल पढ्दै आँखा लगाएकी थिइन् ।

‘खै केले हो, पहिलोपटक देख्नेबित्तिकै आँखा लागिहाल्यो, त्यसपछि छोड्नै सकिँन,’ उनले भनिन् । हेराहेरपछि चिठ्ठीपत्र आदान-प्रदान भएको थियो उनीहरुको । पहिलो चिठ्ठी श्रीमानले नै लेखेको उनले बताइन् । जानुकाकी साथी उर्मिला कार्की र बहिनीले हुलाकीको काम गर्थे ।

पहिलो चिठी उर्मिलाले नै पर्‍याइदिएकी थिइन् । प्रेमीले पठाएको चिठी पढेपछि जवाफ लेखेर र फेरि उर्मिलालाई पठाउँथिन् । एउटै स्कुलमा पढे पनि उनीहरु पत्रमार्फत सम्वाद गर्थे ।

जानुकालाई याद छ, श्रीमानका नाममा उनले करिब १५ वटा चिट्ठी लेखिन् । श्रीमानले लेखेका तीन दर्जन बढी चिढी उनले अहिले पनि सुरक्षित राखेकी छन् ।

अरु पनि थिए प्याकुलीलाई चिट्ठी लेख्ने

श्रीमान बाहेक अरु पनि ६/७ जना केटा थिए, जसले स्कुले जीवनमा प्याकुलीलाई प्रेमपत्र लेखे । आफ्नै बहिनी र अरु साथीहरुले चिठ्ठी ल्याएर दिन्थे । उनी पढ्थिन् । तर, जवाफ दिन्नथिइन् ।

जानुकाको भनाइअनुसार आफूलाई मन पर्ने केटा भेटिसकेपछि अरुका चिठ्ठीको जवाफ फर्काइरहनु जरुरी थिएन । तर, उनलाई केटाहरुले लेखेको चिठ्ठी पढ्न भने निकै रमाइलो लाग्थ्यो ।

pakyuli-virus-with-meri-bas
बाहुनकी छोरी क्षेत्रीसँग

प्याकुली पौडेल बाहुनकी छोरी हुन् । तर, केसी क्षेत्रीसँग बिहे गरिन् । उनको प्रेमबारे घरपटि्टकाले पहिल्यै थाहा पाइसकेका थिए । त्यसकारण समस्या भएन । ‘ससुरा बासँग पहिल्यै चिनजान थियो,’ जानुका भन्छिन् ।

प्रेमपछि मागी बिहे गरेकी उनलाई अहिले मेरी बास्सैमा खेल्न थालेपछि बाटोमा हिँड्दा जिस्क्याउनेहरु धेरै छन् । त्यसरी जिस्क्याउनेहरु देख्दा रमाइलो लाग्ने उनले बताइन् ।

जानुका आफूलाई एउटी सभ्य नारीका रुपमा चिनाउन चाहन्छिन् । उनको भनाइअनुसार सानालाई आदर र ठूलालाई सम्मान गर्छिन् उनी ।

गाउँमा सासू ससुराको स्याहार गरेर गृहिणीका रुपमा जीवन बिताए पनि बेलाबखत सहरमा आएर सिरियलमा अभिनय गर्न थालेकी जानुका छोटो अभिनयमै चर्चा कमाउन सफल भएकी छन् ।

गाउँघरमा रहेका महिलाहरुले चाहेको खण्डमा केही गरेर देखाउन सक्ने रहेछन् भन्ने उदाहरण बनेकी छन् कलाकार जानुका केसी उर्फ ‘प्याकुली भाइरस’ ।