काठमाडौँ, २२ भदौ । संविधान संशोधन, सीमाङ्कन र संविधानमा उल्लेख भएका विभिन्न आयोगका विषयमा प्रमुख तीन दलबीच छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा साँझ बसेको बैठकले सीमा निर्धारण आयोगले गर्दै आएको स्थानीय निकायको पुनःसंरचनाको कामलाई निरन्तरता दिने बारेमा समेत छलफल भएको बताइएको छ ।
बैठकमा आउँदो चैतसम्ममा स्थानीय निकाय निर्वाचनबारे समेत छलफल भएको छ ।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले पुनःसंरचनाबारे आयोग ल्याएको खाकाको बारेका छलफल गरेर अगाडि बढ्न सकिने धरणा राखेको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो ।
बैठकमा नेकपा (माओवादी केन्द्र)का तर्फबाट प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल, उपधानमन्त्री कृष्णबहादुर महरा, नेता वर्षमान पुन, कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्री विमलेन्द्र निधि, र नेकपा (एमाले) को तर्फबाट नेता झलनाथ खनाल र वामदेव गौतमलगायतका नेताको सहभागिता थियो ।






