नेविसङ्घ महाधिवेशनको बन्दसत्र बिहीबारदेखि

nsu nepalकाठमाडौँ, २६ साउन । पटक–पटक मिति तोकिँदै स्थगन हुँदै आएको नेपाल विद्यार्थी सङ्घको ११ औं महाधिवेशनको बन्दसत्र बिहीबार बिहानदेखि सञ्चालन हुने भएको छ ।

नेविसङ्घको महाधिवेशन सम्पन्न गर्न पार्टीले गठन गरेको निर्देशन समितिले  महाधिवेशन प्रतिनिधिमा देखिएको विवाद समाधान र बन्दसत्रका बारेमा जानकारी गराएको हो ।

नेपाली काँग्रेसको भ्रातृ सङ्गठन नेविसङ्घमा देखिएको महाधिवेशन प्रतिनिधिको विवाद मिलेपछि महाधिवेशनको प्रक्रिया भोलि बिहीबारदेखि सञ्चालन हुने समितिका संयोजक डा प्रकाशशरण महतले बताए । उनले समितिले आमरण अनशन बसेका विद्यार्थीको मागसमेत सम्बोधन हुने गरी विवादित ११ जिल्लाको महाधिवेशन प्रतिनिधिको विवाद लामो छलफल गरी टुङ्गो लगाएको जानकारी दिए ।

समितिले विवादित जिल्लाका कार्यसमिति हाललाई थाती राखेर महाधिवेशनमा भाग लिने प्रतिनिधिको टुङ्गो लगाएको हो । ती जिल्लामा निर्वाचनबाट आउने नयाँ केन्द्रीय समितिले तीन महिनाभित्र अधिवेशन गराउने सहमति भएको नेता महतले जानकारी दिनुभयो ।

एघार जिल्लाको महाधिवेशन प्रतिनिधि विवादका कारण यही साउन २३ गते महाधिवेशनको उद्घाटन भए पनि बन्दसत्र हुन सकेको छैन ।