लन्डन- लन्डनको मुटु केन्जिङटन प्यालेस गार्डेन्समा अवस्थित नेपाली दूतावास भवन मर्मत सुरु भएको छ।
नयाँ कार्यवाहक राजदूत शरदराज आरनले कार्यभार सम्हालेलगत्तै मर्मत सम्भारले तीव्रता पाएको शनिबार कान्तिपुर दैनिकले समाचार लेखेको छ । यतिखेर दूतावास भवनको भुइँतला, राजदूत बस्ने आवास गृह र त्यहाँ खसेको सिलिङ मर्मत भइरहेको कार्यवाहक राजदूत आरनले जानकारी दिए।
दुई हिटिङ सिस्टममध्ये एउटा काम नलाग्ने गरी बिग्रिएपछि त्यसलाई करिब १५ लाख रुपैयाँ खर्चेर मर्मत गर्न लागिएको छ भने अन्य सबै मर्मतमा ५० लाख रुपैयाँ लाग्ने अनुमान छ। दूतावासका पुराना फर्निचरसमेत ‘रिप्लेस’ गरिने जानकारी आरनले दिए।
मर्मतसम्भार गर्न नसकिएको बहानामा उक्त क्राउन प्रोपर्टी बिक्री गर्ने चर्चा राजदूत फेरिनेबित्तिकै हुने गर्छ। तर, कार्यवाहक राजदूत आरन अब मर्मत गर्न बाँकी केही नरहेको बताउँछन्। ‘अब सबै संरचना नयाँ भइसकेका छन्, मर्मतको बहानामा बेच्न जरुरी छैन,’ उनले भने। सन् १८६५ मा निर्मित १२ ए नम्बरको उक्त भवनको बजार भाउ करिब एक सय ८० मिलियन पाउन्ड पर्ने बताइन्छ।






