बजेट आश्रित तीन विधेयक अस्वीकृत

CAकाठमाडौँ, ७ साउन । सरकारले पेस गरेको चालु आवको बजेटसँग आश्रित तीन विधेयक व्यवस्थापिका–संसद्ले अस्वीकृत गरेको छ ।

बैठकमा सभामुख ओनसरी घर्तीले बेग्लाबेग्लै निर्णयार्थ प्रस्तुत गर्नुभएको आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत (२१ औँ संशोधन) विधेयकलाई ध्वनी मतका आधारमा बहुमतले अस्वीकृत गरेको हो ।

चालु आव २०७३÷०७४ को बजेटसँग सम्बन्धी विनियोजन विधेयक यसअघि नै पारित भए पनि नेकपा (माओवादी केन्द्र)ले सरकारबाट समर्थन फिर्ता लिएका कारण ती विधेयक पारित हुन नसकेका हुन् । आर्थिक विधेयक अस्वीकृत भएसँगै सरकार बहुमतको नैतिक सङ्कटमा परेको छ ।

नेपाली काँग्रेस, माओवादी केन्द्रलगायत दलले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध गत असार २९ गते संसद्मा अविश्वासको प्रस्ताव दर्ता गराएसँगै विधेयक पारित गर्ने विषय अप्ठ्यारोमा परेको थियो ।