
लन्डन- नेपालले एमसीसीसँगको च्यारिटी खेल ४१ रनले जितेको छ । २१८ रनको लक्ष्य लिएर आएको एमसीसी ४७.२ ओभरमा १ सय ७६ रनमा अलआउट भयो
नेपालबाट सागर पुन र वसन्त रेग्मीले ३-३, सोमपाल कामीले २ तथा शक्ति गौचन र सन्दीप लामिछानेले १-१ विकेट लिए ।
लन्डनस्थित लर्डस क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा २१७ रन बनाएको थियो ।
चौथो ओभरको सुरुवातीमै ओपनर अनिल मण्डललाई व्यक्तिगत दुई रनमा गुमाएको नेपालका लागि अर्का ओपनर ज्ञानेन्द्र मल्ल ३९ रन बनाउँदै पारी सम्हालेका थिए । त्यस्तै कप्तान पारस खड्काले ३० शरद भेषावकरले २७, सागर पुनले २६, अविजित रहेका वसन्त रेग्मी र राजु रिजालले समान २४ तथा सोमपाल कामीले २० रन बनाएपछि नेपालको सम्मानजनक स्कोर खडा भएको थियो । त्यसैगरी विनोद भण्डारीले नौ रन बनाएका थिए भने शक्ति गौचन शून्य रनमा अविजित रहेका थिए ।
नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको २०० वर्ष पूरा भएको उपलक्ष्यमा ‘क्रिकेटको घर’का रूपमा परिचित लर्डसमा नेपाली टोलीले घरेलु क्रिकेट क्लबसँग खेल्ने अवसर पाएको हो । लर्डस् विश्वकै सबभन्दा पुरानो क्रिकेट मैदान हो भने मेरिलेबोन पनि पुरानो क्रिकेट क्लब हो ।






