धुर्मुस सुन्तली फाउण्डेशनको संस्थापक सल्लाहकारमा मह जोडी

Dhurmus-Suntali-Mahaबरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) धुर्मुस सुन्तली फाउण्डेशनको संस्थापक सल्लाहकार हुनुभएको छ । फाउण्डेशनले गरेको प्रस्ताव मह जोडीले सहर्ष स्वीकार गरेपछि उहाँहरुलाई संस्थापक सल्लाहकारमा नियुक्त गरिएको हो ।

हास्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले सामाजिक काम गर्नका लागि भूकम्प पश्चात फाउण्डेशन स्थापना गरेका हुन् । हास्य कलाकारले फाउण्डेशनमार्फत निकै राम्रो काम गरिरहेकाले संस्थापक सल्लाहकारको प्रस्ताव स्वीकार गरेको मह जोडीले बताएका छन् ।

गिरान्चौर एकिकृत बस्तीका घरहरु नेपाली मौलिकता झल्कीने गरी घर बनाउन उनीहरुले सुझाव दिएका छन् । सल्लाह दिनु भन्दा, काम गरेर देखाउनु ठूलो कुरा भएको भन्दै हास्य कलाकारबाटै भएको सामाजिक कामको मह जोडीले प्रशंसा गरेका छन् । हास्य क्षेत्रका विशिष्ट व्यक्तिले फाउण्डेशनको प्रस्ताव स्वीकार गरेकोमा फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले आभार व्यक्त गरेका छन् ।

मह जोडीको अनुभव र उपयुक्त सल्लाहले नै आफुहरुलाई अघि बढ्न प्रेरीत गर्ने उनको भनाई छ । आफुहरु मह जोडीबाटै प्रभावित भएर हास्य क्षेत्रमा प्रवेश गरेकाले उनहरुल दिएको सल्लाह अनुसार नै अघि बढ्ने फाउण्डेशनकी कोषाध्यक्ष कुञ्जना घिमिरेले बताएकी छिन् ।

युरोप भ्रमण गरेर केहि दिन अघि स्वदेश फर्किएका मह जोडीले बेल्जियमबाट कमल भारती र साबित्रा गिरीको परिवारले गिरान्चौर एकिकृत बस्ती निर्माणका लागि पठाएको ८ सय ५० युरो (१ लाख रुपैयाँ भन्दा बढी) सहयोग पनि धुर्मुस सुन्तलीलाई हस्तान्तरण गरेका छन् ।

फाउण्डेशनले सुरु गरेको गिरान्चौर एकीकृत बस्ती निर्माण तथा पर्यटन प्रबर्द्धन परियोजनाको सल्लाहकारमा भने लिलामणि पौडेल, डा. स्वर्णीम वाग्ले, रविन्द्र मिश्र, डा.गोविन्द पोखरेल, दिनेश थपलिया रहेका छन् ।