काठमाडौँ, ३२ जेठ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को इतिहासमा पहिलोपटक रु दुई अर्बभन्दा बढी मूल्यको सेयर कारोबार भएको छ । नेप्से परिसुचक १६ दसमलव १४ पुगेको छ ।
नेप्सेमा मंगलबार सबैभन्दा बढी रु दुई अर्ब १९ करोड ७८ लाख ५९ हजार ८५७ मूल्यको सेयर कारोबार भएको नेप्सेका महाप्रबन्धक सीताराम थपलियाले जानकारी दिनुभयो । नेप्से अहिलेको स्वरुपमा विसं २०५० देखि सञ्चालनमा आएको हो ।
आज १३४ कम्पनीका ३७ लाख ५१ हजार ६३५ कित्ता सेयर किनबेच भएका छन् । यसअघि नेप्सेमा सबैभन्दा बढी रु एक अर्ब ९६ करोड मूल्यको सेयर कारोबार भएको नेप्सेका सहायक प्रवक्ता मुराहरी पराजुलीले बताउनुभयो ।
बजारमा तरलता बढेको, ब्याजदर घटेको, सस्तो ब्याजदरमा ऋण उपलब्ध हुन थालेको, सुरक्षित लगानीका लागि अर्को विकल्प नपाएको लगायतका कारण दिनहुँ सेयर कारोबार बढ्दै गएको अर्थविद्को भनाइ छ । सेयर कारोबारमा कमाई हुन थालेको भन्ने मानसिकताले यस क्षेत्रमा नयाँ लगानीकर्ता थपिएका छन् ।






