कहिले सुल्झिएला क्यासिनो विवाद ?

– सिबी अधिकारी

casinoकाठमाडौँ २७ जेठ । क्यासिनो पर्यटनको एउटा दरिलो आधार भए पनि यसको नियमन र व्यवस्थापन अभावले विवादित बन्ने गरेको छ ।

क्यासिनोसम्बन्धी सरकारी नीतिको अभाव र सञ्चालकको लापर्बाहीले पर्यटकीय खुराक क्यासिनोले फड्को मार्न सकेको छैन ।

सरकारले पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नेपालमा क्यासिनो सञ्चालन गर्न निजी क्षेत्रलाई अनुमति दिएको थियो । तर, निजी क्षेत्रले क्यासिनोलाई व्यापारिक प्रयोजनका लागि दुरुपयोग गर्न थालेपछि पछिल्लो समय सरकारले क्यासिनोलाई कडाइ गरेको थियो । क्यासिनोमा नेपाली प्रवेश भएको पाइएमा जुवा ऐनअन्तर्गत कारबाही हुने व्यवस्था छ ।

क्यासिनोसम्बन्धी ऐनको अभाव र व्यवसायीको हेलचेक्र्याइँका कारण क्यासिनो विवादमा तानिने गरेको बताउनुहुन्छ, पर्यटन विभागका महानिर्देशक सुदर्शनप्रसाद ढकाल । “क्यासिनो विदेशीका लागि हो तर व्यवसायीले यसलाई व्यापारका रुपमा लैजान खोजे, जहाँ नेपालीको प्रवेश बढ्यो र विकृति ल्यायो”– उहाँले भन्नुभयो ।

विसं २०७० मा पहिलो पटक क्यासिनोसम्बन्धी नियमावली लागू गरियो तर व्यवसायीले सरकारको मापदण्ड नमानेपछि यो थप विवादित बनेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले क्यासिनोलाई नियमन र व्यवस्थित गर्न नियमावली बनायो तर क्यासिनो सञ्चालकले नियमावलीले सञ्चालन गर्न कठिन भएको भन्दै विरोध गरे । वर्षौंदेखिको बक्यौता रकम तिर्न नसकेपछि २०७१ देखि सबै क्यासिनो बन्द भए । दुई वर्षकाबीचमा केही क्यासिनो भने सञ्चालन भइरहेका छन् । धेरैले बक्यौता रकम बुझाउन बाँकी छ ।

क्यासिनो सञ्चालक सङ्घका अध्यक्ष किशोर सिलवालले क्यासिनो व्यवसायलाई निरुत्साहित गर्ने गरी सरकारले नियमावली जारी गरेकाले यो व्यवसाय धरासायी बन्ने अवस्थामा पुगेको बताउनुभयो । उहाँले सरकारले घोषणा गरेअनुसार २०७० सम्मको बक्यौता रकममा ५० प्रतिशत छुट दिने भनिए पनि त्यसो हुनाको साटो थप जरिवाना बढाएकाले समस्या आएको बताउनुभयो ।

अध्यक्ष सिलवालले सरकारले जरिवानाबापतको ३० प्रतिशत रकम छुट गरेको खण्डमा आफूहरु व्यवसाय सञ्चालन गर्न आतुर रहेको उल्लेख गर्नुभयो । पर्यटन विभागको विवरणअनुसार अहिले क्यासिनोबाट रु एक अर्ब ३२ करोडभन्दा बढी बक्यौता रकम उठाउन बाँकी छ, अझै पनि व्यवसायीले उक्त रकम बुझाएका छैनन् । निमावलीअनुसार २०७० सम्म रु ६७ करोड बक्यौता रकम बुझाउन बाँकी थियो, उक्त रकम समयमा नबुझाएपछि हरेक महिना ३० प्रतिशत जरिवाना लाग्ने हुँदा यति धेरै बक्यौता पुगेको हो । केही क्यासिनोले अहिले बक्यौता रकम तिर्न थालेका छन् ।