बेलायतको हेल्प नेपाल फाउण्डेशनले धुर्मुस सुन्तलीलाई २० लाखदिने

Help-Nepal-Foundation-Team[1]

लन्डन । बेलायतको हेल्प नेपाल फाउण्डेशनले सिन्धुपाल्चोकको गिरान्चौर एकीकृत बस्ती निर्माणका लागि २० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

२०७२ साल वैशाख १२ गतेको भूकम्पपछि स्थापना भएको फाउण्डेशनले भूकम्प प्रभावितका लागि संकलन गरेको २० लाख रुपैयाँ धुर्मुस सुन्तली फाउण्डेशनलाई सहयोग गर्ने घोषणा गरेको हो । भूकम्प पिडितलाई राहत र पुनर्निर्माणमा सघाउने उद्देश्यले संकलन गरिएको रकम धुर्मुस सुन्तलीमार्फत पीडितसम्म पुर्याउन चाहेको हेल्प नेपाल फाउण्डेशनले जनाएको छ । धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको गिरान्चौर एकीकृत बस्ती निर्माणमा रकमको आवश्यकता देखिएकाले यो निर्णय गरिएको फाउण्डेशनद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । घोषणा गरिएकोसहयोग जतिसक्दो छिटो नेपाल पठाइने हेल्प नेपाल फाउण्डेशनका कोषाध्यक्ष नारायणबहादुर सापकोटाले जानकारी दिनुभयो ।

हेल्प नेपाल फाउण्डेशनले गरेको यो निर्णय प्रति धुर्मुस सुन्तली फाउण्डेशन कृतज्ञता प्रकट गरेको छ । यति ठूलो सहयोगको घोषणा हुँदा आफूहरुलाई काम गर्ने निकै उर्जा मिलेको धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले बताएका छन् । हेल्प नेपाल फाउण्डेशनको सहयोग प्राप्त भएमा ४ करोड बढी अनुमानित लागत रहेको गिरान्चौर एकीकृत बस्ती निर्माण परियोजना सम्पन्न गर्न ठूलो सहयोग पुग्ने फाउण्डेशनकी कोषाध्यक्ष कुञ्जना घिमिरेले प्रतिक्रिया दिएकी छिन् ।

यसअघि सिटी एक्सप्रेस मनी ट्रान्सफरले फाउन्डेशनलाई १५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको थियो । यस्तै अष्टिन टेक्सासमा बस्ने नेपालीकोतर्फबाट १० लाख ८६ हजार रुपैयाँ, नेप्लिजइनग्राज अस्ट्रियामार्फत १० लाख ९३ रुपैयाँ सहित अन्य थुप्रै संस्था र व्यक्तिहरुबाट अहिलेसम्म फाउण्डेशनको खातामा १ करोड ४० लाख रुपैयाँ जम्मा भएको छ ।dhurumus%20at%20giranchaur%202[1]dhurumus%20at%20giranchaur%201[1]