काठमाडौँ, १५ जेठ । झापाको लखनपुर र काठमाडौँमा बन्न लागेका दुई अन्तर्राष्ट्रिय फुटबल रङ्गशालाको निर्माणकार्य आगामी वर्ष सुरु हुने भएको छ ।
व्यस्थापिका–संसद्मा आज अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आव २०७३÷७४ को बजेट प्रस्तुत गर्दै प्रत्येक प्रदेशमा एउटा रङ्गशाला र समान बहुउद्देश्यीय कभर्डहल निर्माणका लागि बजेट व्यवस्थापन गरेको जानकारी दिनुभयो ।
त्यस्तै काठमाडौँको मूलपानी, भैरहवा र धनगढीमा निर्माणाधीन क्रिकेट मैदान आगामी तीन वर्षभित्र सम्पन्न गर्ने सरकारले लक्ष्य राखेको छ । त्यसैगरी डडेल्धुरा, बैतडी, धनुषा, मोरङ, दाङ, सुर्खेत र पर्सामा नयाँ क्रिकेट मैदानको निर्माण कार्य यसै वर्ष सुरु हुने भएको छ ।
सन् २०१८ मा नेपालमा हुन लागेको १३औँ दक्षिण एसियाली खेलकुद (साग)का लागि आवश्यक भौतिक पूर्वाधार तयार गर्न सरकारले बजेट छुट्याएको छ । साथै सरकारले आगामी वर्ष सातौँ राष्ट्रिय खेलकुद आयोजनाका लागि रु २० करोडको बजेट छुट्याएको छ ।
उत्कृष्ट राष्ट्रिय खेलाडी उत्पादन गर्न गर्ने दीर्घकालीन योजनाअनुरुप सबै जिल्लाका सामुदायिक विद्यालयमा अनिवार्यरुपमा राष्ट्रपति रनिङ शिल्ड आयोजना गरिने भएको छ ।
युवा स्वरोजगार कार्यक्रम विस्तार गर्दै कृषि, पशुपक्षी, उद्योग, वन, क्षेत्रबाट सञ्चालित उत्पादन वृद्धि र सेवा क्षेत्रका कार्यक्रममा युवालाई प्राथमिकता दिने नीति सरकारले लिएको छ ।






