सत्ता, प्रमुख प्रतिपक्ष र आन्दोलनरत गठबन्धनको बैठक बस्दै

singha durbarकाठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान राजनीतिक समस्याको समाधान खोज्न सत्तापक्ष, प्रमुख प्रतिपक्ष र आन्दोलनरत गठबन्धनको संयुक्त बैठक आव्हान गर्नु भएको छ । त्रिपक्षीय वार्ताका लागि प्रधानमन्त्री ओलीले मंगलवार बिहान साढे १० वजे प्रधानमन्त्री कार्यालय सिंहदरवारमा बैठक आव्हान गर्नु भएको हो ।

आन्दोलनरत गठबन्धनलाई यसअघि प्रधानमन्त्री ओलीले वर्ताका लागि पत्राचार गर्नु भएको थियो भने मन्त्रिपरिषदको बैठकले समेत आव्हान गरेको थियो । आन्दोलनरत मोर्चाले भने वार्ताका लागि वातावरण नभएको भन्दै वार्ता अस्वीकार गर्दै आएको छ । भारतीय सीमा नाकाबाट ७ महिनासम्म नाकाबन्दी र तराईमा हिंसात्मक आन्दोलन गर्दै आएको मधेसी मोर्चाले पछिल्लो पटक राजधानी केन्द्रित कार्यक्रम राखेको थियो ।

राजधानीकेन्द्रित आन्दोलनमा जनसहभागिता जुट्न नसकेपछि गठबन्धनको आन्दोलन विभिन्न शहर केन्द्रित गर्ने भन्दै स्वरुप फेरिएको थियो । आन्दोलनकारीका माग विषयमा छलफल गरि निकासमा पुग्न प्रधानमन्त्री ओलीले सत्ता, प्रमुख प्रतिपक्ष र आन्दोलनरत पक्षसहित त्रिपक्षीय वार्ताका लागि बैठक बोलाउनु भएको हो ।