पत्रकार महासंघ र एनआरएन युकेबीच समझदारी

nareshलन्डन- नेपाल पत्रकार महासंघ युके र गैरआवासीय नेपाली संघ -एनआरएनए) यूकेबीच एक समझदारी भएको छ ।

सो सम्बन्धी सम्झौता पत्रमा एनआरएन युकेका अध्यक्ष मुच्छेत्र गुरुङ र महासंघ युकेका अध्यक्ष नरेश खपाङ्गीमगरले हस्ताक्षर गरे । समझदारी पत्रमा नेपाल घर निर्माणसम्बन्धी अभियानका बारेमा नेपाल पत्रकार महासंघले प्रचारप्रसार र जनमानसमा सकारात्मक माहौल बनाउन मिडिया साझेदारको काम गर्ने, नेपाल घर निर्माणका गतिविधिलाई जनमानसमा छिटोभन्दा छिटो र पारदर्शी रुपमा जानकारी गराउन नेपाल पत्रकार महासंघले भूमिका निर्वाह गर्ने छ । यस्तै, नेपाल घरमा युकेका नेपालीहरुका बारेमा सम्पूर्ण जानकारीहरु समेटिएको एक सूचना केन्द्र स्थापना गरिने छ र सोको व्यवस्थापन र सञ्चालनको जिम्मा नेपाल पत्रकार महासंघलाई दिइने छ ।

सो अवसरमा एनआरएन युकेका तर्फबाट महासंघ युकेका पदाधिकारी तथा सदस्यहरुलाई खादा ओढाइ सम्मान गरेका थिए । कार्यक्रममा बोल्दै गुरुङले नेपाल हाउस एनआरएन युकेको महत्वाकांक्षी परियोजना भएकाले सहयोग गर्न अनुरोध गरे ।

महासंघका अध्यक्ष खपांगीमगरले नेपाल हाउस युकेमा बस्ने सबै नेपालीहरुको शान र इज्जतको परियोजना भएकाले महासंघले सबै किसिमले सहयोग गर्ने बताए ।

एनआरएन युकेका उपमहासचिव अर्जुन कटवालले संचालन गरेको कार्यक्रममा प्रवक्ता खुशी लिम्बुले स्वागत गरेका थिए भने महासंघका उपाध्यक्ष ध्रुव अर्याल, सचिव शिव भण्डारी र सल्लाहकार नविन पोखरेलले आफ्ना विचार राखेका थिए ।

एनआरएन युकेका सचिव कृष्ण तिवारीले समझदारी पत्र पढेर सुनाएका थिए भने उपाध्यक्ष राष्ट्र राईले धन्यवाद ज्ञापन गरेका थिए ।

NRN-FNJ-mou[1]अध्यक्ष मुछेत्र गुरुङ (दायां) र महासंघ यूकेका अध्यक्ष नरेश खपाङगीमगर