काठमाडौं- एनसेल कर विवाद सल्टिएको भए पनि स्विडेनको बहुचर्चित टेलिकम संस्था टेलियासोनेराले मलेसियास्थित एक्जिटा कम्पनीलाई आफ्नो कम्पनी बेच्ने क्रममा गरेका केही रहस्यमय गतिविधिबारे जानकारी प्राप्त भएका छन् ।
प्राप्त जानकारीअनुसार माघ ८ गते शुक्रबार (जनवरी २२) अबेर त्रिभुवन विमानस्थलमा एउटा प्राइभेट जेट (फ्लाइट नम्बर जे ई एफ ३३) अवतरण भएको थियो टेलियासोनेराका वरिष्ठ अधिकारी र एनसेल ग्रुप कार्यकारी प्रमुख जोहन डेनलिन्डलाई लिएर । साथमा डेनलिन्डका स्विडिस अंगरक्षक पनि थिए ।
त्यो विमानको अवतरण र प्रस्थानलाई लिएर अहिले छानबिन हुन लागेको एक उच्चस्तरीय सरकारी स्रोतले बतायो । विमान फिनल्यान्डबाट भाडामा लिइएको थियो र बाकु (अजरबैजान) मा रिफ्युल गरिएको थियो ।
उक्त टोलीले उच्च राजनीतिक तथा प्रशासनिक तहमा भेटघाट गरेको थियो । त्यही दिन मलेसियाबाट काठमाडौं एक्जिटाका कार्यकारी प्रमुख जमालुद्दिन अब्राहम पनि एनसेलका स्थानीय सेयरहोल्डर सतीष आचार्यद्वारा समन्वय गरिएका ती बैठकमा सामेल थिए ।






