काठमाडौं- पार्टीभित्र छलफल नगरी सभापति शेरबहादुर देउवा एकपक्षीय ढङ्गले अघि बढ्न खोजेको भन्दै नेपाली कांग्रेसभित्र असन्तुष्टि बढेको छ ।
सरकार परिवर्तनको खेलमा लागेर पार्टीको साख गिराएको भन्दै कांग्रेसका प्रभावशाली नेताहरुले सभापति देउवाको पछिल्लो कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका हुन् । बिहीबार दुई दर्जन भन्दा बढी केन्द्रीय सदस्यहरुले छुट्टै भेला गरी सभापतिको ध्यानाकर्षण गराएका छन् ।
केन्द्रीय सदस्य प्रकाशमान सिंहको नेतृत्वमा गएको टोलीले सभापति देउवालाई बूढानिलकण्ठस्थित निवासमा भेटी पार्टीलाई संस्थागत निर्णयका आधारमा अघि बढाउन ध्यानाकर्षण गराएको हो ।
पार्टीले लिनुपर्ने महत्वपूर्ण निर्णयमा एकपपक्षीय ढङ्गले अघि बढेकोमा आपत्ति जनाउँदै नेताहरुले सरकार परिवर्तन जस्तो संवेदनशील विषयमा पार्टीभित्र आवश्यक छलफल समेत नगरी अघि बढ्दा अहिले सकारात्मक परिणाम आउन नसकेको निष्कर्ष निकालेका छन् ।
जवाफमा सभापति देउवाले आगामी दिनमा यस्तो हुन नदिने र आफू सबैसित छलफल गरेर अगि बढ्ने प्रतिबद्धता जनाउनुभएको थियो ।






