दाङ : ‘पैसा देखेपछि महादेवका पनि तीन नेत्र बल्छन्’ भन्ने नेपाली उखानै छ । तर, त्यो उखान कहिलेकाहीँ गलत सावित हुँदो रहेछ ।
दाङको तुलसीपुरका एक गाडीका धनीले पूर्वपश्चिम राजमार्गमा फेला पारेको ३० लाख ३० हजार मूल्य बराबरको सामान सम्बन्धित व्यक्तिलाई फर्काएर यो उखान झुटो सावित गरेका छन् ।
ना ५ ख ५२५९ नम्बरका गाडीधनी इन्द्रबहादुर शाहले पुस २५ गते पूर्वपश्चिम राजमार्गको चन्द्रौटामा फेला पारेको एनसेलका दुई कार्टुन रिचार्ज कार्ड सम्बन्धित व्यक्तिलाई तुलसीपुरमा बोलाएर शनिबार जिम्मा लगाएका हुन ।
गाडीधनी शाह पुस २५ गते काठमाडौंबाट दाङको तुलसीपुर आउँदै गर्दा उक्त रिचार्ज कार्ड राजमार्गको चन्द्रौटा मोडमा फेला पारेका थिए ।
जिसन ट्रेड लिंक नेपालगञ्ज बाँकेमा आफैंले फोन गरी जानकारी गराएको शाहले बताए । कार्टुनमा फेला रिचार्ज कार्डको मूल्य ३० लाख ३० हजार उल्लेख गरिएको देखेपछि मानवीयताको नाताले सम्बन्धित धनी खोज्न थालेको उनले बताए ।
कार्यक्रममा जिसन टे«ड लिंक नेपालगञ्जका मध्यपश्चिम प्रतिनिधि अब्दुल रमजानले सामान फेला पारी फिर्ता गरेकोमा शाहलाई धन्यवाद दिएका थिए ।
शाहजस्ता इमान्दार व्यक्तिकै कारण समाजमा विश्वास र भाइचारा स्थापित भइरहेको छ’। उनले भने, ‘यस्ता उदाहरणीय र ठूलो मन भएका शाहहरु सबैतिर भइदिए समाजमा एकअर्काप्रति विश्वास पैदा हुनेथियो ।’
कार्यक्रममा सहभागी अन्य वक्ताहरुले पनि शाहको सच्चरित्र र इमान्दारिताको मुक्तकण्ठले प्रशंसा गरेका थिए ।
गाडीधनीले फिर्ता गरे सडकमा भेटिएको ३० लाखको रिचार्ज कार्ड






