‘कामका लागि काठमाडौँ आउँदै गर्दा दुर्घटनामा परे…’

Halesi_Bus_Accidentकल्पना पौडेल

काठमाडौँ- कामका लागि घरबाट सबैसँग बिदा लिएर काठमाडौँ आउँदै गर्दा अचानक बस भिरबाट खसेपछि १७ वर्षीय मिलन राईले बाँचिएला भन्ने सोच्नु भएन । “बसमा सवार सबै यात्रु डरले चिच्चाए, कराए तर हुने हार कसले रोक्न सक्थ्यो र बस खस्यो । कतिले त्यहीँ सास छोडे भने कतिका हातखुट्टा भाँचिएर घाइते भए”–उहाँले भन्नुभयो, “गाडी तीव्र गतिमा थियो । अप्ठ्यारो बाटोमा तीव्र गतिमा बस चलाउँदा गाडी भिरबाट खसेको हो । अब कसरी काम गर्ने र खाने ।”

आज बिहान खोटाङको दिक्तेलबाट काठमाडौँका लागि यात्रु बोकेर हिँडेको बस बा२ख ६३७६ नं को यात्रु बस साँघुरो बाटो रहेको बर्खेटारमा बिहान ८ः३० बजे सडकबाट करिब ५०० मिटर तल खसेपछि उहाँ घाइते हुनुभएको छ । उहाँको खुट्टा भाँचिएको छ भने कानमा पनि चोट लागेको छ । थप उपचारकालागि उहाँलगायत १२ जनालाई काठमाडाँै ल्याइएको छ ।

बाटो खन्ने काम गर्ने उहाँ कामका लागि खोटाङबाट काठमाडौँ आउँदै हुनुहुन्थ्यो । उहाँले भन्नुभयो, “कामका लागि घरबाट हिँडेको दुर्घटनामा परियो, अब कसरी उपचार हुने हो । म त बाँचे तर मेरो भिनाजु बाँच्न सक्नुभएन ।” उहाँ आफू घाइते भएकोभन्दा पनि आफ्नो भिनाजुको निधन भएकामा दुःखित हुनुहुन्थ्यो ।

घाइतेका आफन्त किरण राईले गाडी चालकको लापरबाहीको कारण दुर्घटना भएको बताउनुभयो । उहाँका फुपुको मृत्यु भएको छ, भने घाइते फुपाजुलाई काठमाडौँ ल्याइएको छ । उहाँको खुट्टा भाँचिएको छ । राईले फुपुको दुई महिनाअघि वीर अस्पतालमा बे्रन ट्युमरको शल्यक्रिया गरेकाले त्यसको पुनःउपचारका लागि आउँदै गर्दा दुर्घटना परेको सुनाउनुभयो ।

यात्रुले खचाखच भरिएको गाडी भिरबाट तल खस्सेपछि बाचिँएला भन्ने आश मारेको बताउँदै घाइते खड्गबहादुर राईले भन्नुभयो, “धेरैको घटनास्थलमै मृत्यु भयो, तर हामी भाग्यले बाँच्यौँ । खुट्टा र मेरुदण्ड भाँचिएको छ ।”

खोटाङमा उपचार हुन नसेकापछि घाइते १२ जनालाई थप उपचारका लागि सेनाको हेलिकोप्टरबाट महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा ल्याइएको छ । अस्पतालका निर्देशक प्रा डा दिपक महराले भन्नुभयो, “१२ जना घाइतेको उपचार जारी छ, एक जना नाम नखुलेका घाइतेको अवस्था गम्भीर भएकाले अतिसघन उपचार कक्ष ९आइसियु० मा उपचार भइरहेको छ भने अन्यको अवस्था खतरामुक्त छ । धेरैको हातखुट्टा भाँचिएको छ ।”