काठमाडौं: मोबाइल फोन फालेर स्मार्टफोन पाइन्छ ? तपाईलाई सुन्दा अचम्म लाग्न सक्छ।तर नेपालमा पहिलो पटक यस्तै ‘मोबाइल फ्याक्ने’ प्रतियोगिताको आयोजना गरिएको छ जहाँ प्रतियोगीले मोबाइल फ्याँकेर १६ हजार बराबरको इन्टेक्सको नयाँ स्मार्टफोन जितेका छन्।
शनिबार रोटरी क्लब अफ रुद्रमति काठमाडौं नामक संस्थाले रोट्रयाक्ट क्लबसँग सहकार्य गरेर सो प्रतियोगिताको आयोजना गर्यो। जसमा २ सय ५५ जनाले प्रतियोगीतामा भाग लिए र मोबाइललाई सबैभन्दा पर फ्याँक्ने महिला/पुरुषले पुरस्कार पाए।
काठमाडौंको टुँडिखेलमा गरिएको सो प्रतियोगितामा रमेश ठकुलाले २४९ फिट पर मोबाइल फाल्दै १६ हजार मूल्य पर्ने इन्टेक्सको नयाँ स्मार्टफोन पाए। यस्तै महिलातर्फ दुर्गा लम्साल ११८ फिट पर मोबाइल फालेर पहिलो भइन। सो प्रतियोगितामा १४ बर्ष मुनिकाने लोकेश गिरी १६३ फिट पर मोबाइल फालेर प्रथम भए। १० हजार र ७ हजार रुपैयाँसम्म पर्ने मोबाइल पुरस्कार पाए।
मुगुको हितबडा गाविसका दुई सय महिलाहरुलाई नि:शुल्क मोबाइल उपलब्ध गराउने उद्देश्यले पुराना मोबाइल संकलन गर्ने अभियान थालिएको हो। प्रतियोगिताको उद्घाटन गर्दै उद्योगमन्त्री महेश बस्नेतले आफ्नो एउटा पुरानो मोबाइल दिएर प्रतियोगितामा सहभागी भए।
उनले सञ्चारको पहुँचसबै ठाउँमा पुर्याउनुपर्ने भन्दै मोबाइल फ्याक्ने प्रतियोगिताले सञ्चार पहुँच देशव्यापी रुपमा विस्तार गर्न सरकार प्रतिवद्ध रहेको बताए। रोटरी क्लब रुद्रमतीको १२ चार्टर्ड डेको अवसरमा यसमा संलग्न युवाहरुले यस किसिमको प्रतियोगिता आयोजना गरेका हुन्।
प्रतियोगिताका तीनै विधामा प्रथम हुनेलाई लिभिंग विथ आइसिटीले एक/एक बर्षको लागि निशुल्क बार्षिक ग्राहक बनाएको छ।
पुरानो मोबाइल फालेर नयाँ स्मार्टफोन






