काठमाडौँ- नेपाल बार एसोसिएसनको नयाँ कार्यसमितिका लागि भएको मतगणनामा लोकतान्त्रिक समूहका अध्यक्षका उम्मेदवार शेरबहादुर केसीले अग्रता कायम गर्नुभएको छ ।
निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत हरिशङ्कर निरौलाका अनुसार गणना भएको १४०४ मतमा केसीले ७५१ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी प्रगतिशील समूहका विजयकान्त मैनालीले ५९७ मत प्राप्त गर्नुभएको छ ।
अध्यक्षका अर्का उम्मेदवार मनोहर शाहले ३० मत र रामप्रसाद प्रजापतिले छ मत प्राप्त गर्नुभएको छ । बुधबार बिहान ९ बजेसम्मका लागि मतगणना स्थगित भएको छ ।
महोत्तरी, सुर्खेत, दाङ (घोराही), दाङ (तुल्सीपुर), बर्दिया, दीपायल, धनगढी, बुटवल, नवलपरासी, पाल्पा, बाग्लुङ, स्याङ्जा, रौतहट, बारा र नेपालगन्ज गरी १७ मतदान केन्द्रको मतगणना सम्पन्न भएको हो । त्यसमध्येमा नेपालगन्ज केन्द्रमा सबैभन्दा बढी मत २४९ रहेको थियो ।
आज बिहानदेखि मतगणना सुरु भएको हो । नयाँ कार्यसमितिका लागि शनिबार ३३ निर्वाचन केन्द्रबाट मतदान कार्य सम्पन्न भएको थियो ।






