पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको वैशाख १ गते शिलान्यास

airportपोखरा- लामो समयको प्रतिक्षापछि २०७३ वैशाख १ गते नयाँ वर्षमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास हुने भएको छ ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण उच्चस्तरीय सहयोग समितिद्वारा आज पोखरा विमानस्थलमा आयोजित बृहत् बैठकपछि समितिका संयोजक रवीन्द्र अधिकारीले नयाँ वर्षका दिन विमानस्थलको शिलान्यास गरिने जानकारी गराउनुभयो ।

पोखरामा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल पोखराको मात्र नभएर प्रदेश नं ४ का लागि गौरवको विषय भएको बताउँदै उहाँले निर्माण कार्यलाई सफल बनाउन प्रदेश नं ४ का सांसद, राजनीतिक दलका नेता तथा पर्यटन एवम् सामाजिक सङ्घ संस्थाका प्रतिनिधि, कार्यालय प्रमुखसमेत रहेको मूल समिति गठन गरिएको जानकारी दिनुभयो ।

बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले विमानस्थलको शिलान्यास गर्ने जानकारी दिनुभयो ।