फेरी पोखियो उपराष्ट्रपतिको हिन्दी मोह

मोरङ, २६ पुस– उपराष्ट्रपति परमानन्द झाले विराटनगरमा शनिबार भएको एक कार्यक्रममा हिन्दीमा भाषण गरेका छन् ।  २०६४ सालको संविधानसभा निर्वाचनपछि संसदबाट उपराष्ट्रपति निर्वाचित भएका झाले हिन्दीमा सपथ लिएपछि व्यापक विरोध भएको थियो ।

चौतर्फी विरोधको सामना गर्न नसकेपछि उनले दोहोर्‍याएर मैथलीमा सपथ लिनुपरेको थियो । नेपालको उपराष्ट्रपति भएर पनि विदेशको भाषामा सथप लिएको भन्दै उनको देशभर पुत्ला जलाइएको थियो ।
झाले सार्वजनिक कार्यक्रममा हिन्दीमा भाषण गरेर फेरि विवाद निम्त्याएका छन् । अखिल भारत वर्षीय युवा संगठनको अन्तराष्ट्रिय बैठकको विराटनगरमा उद्घोटन गर्दै झाले हिन्दीमा भाषण गरेका हुन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संसदमा नेपालीमा भाषण गरेका थिए । त्यसलाई धेरैले हिन्दीमा भाषण गर्ने मधेसी नेतालाई ‘सबक सिकाएको’ अर्थमा बुझेका थिए ।
उनले नेपालमा व्यापार व्यवसायमा संलग्न भारतीय मारवाडीहरु पनि नेपाली नागरिक नै भएको जिकिर गरे । त्यस क्रममा उनले मधेसी जनतालाई आफ्नो अधिकारका लागि संगठित हुन पनि आग्रह गरेका थिए ।