फेरि चुनाव लड्दै देउवा र पौडेल

Congressकाठमाडौं- कांग्रेस महाधिवेशन सकिएको दुई सातापछि पुनः सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलले संसदीय दलको नेताका चुनावी तयारी सुरु गरेका छन् ।

सभापति देउवाले आफ्नो नाममा सर्वसम्मत बनाउने पहल गरेका छन् भने पौडेलले पार्टी एकताको सन्देशका लागि आफूलाई दिन देउवासँग आग्रह गरेका छन् ।

देउवाले पौडेल निवासमै गएर आफ्नो नाममा सर्वसम्मत हुने वातावरण बनाउन आग्रह गरेका थिए । जवाफमा पार्टी एक भएको सन्देश दिन दलको नेतामा आफूलाई सहयोग गर्नुपर्ने पौडेलको भनाइ थियो ।

देउवाले पार्टी सञ्चालन गर्दा सरसल्लाह र समझदारी कायम गरेर अघि बढ्ने बताए पनि संसदीय दलको नेतामा भने आफैं अघि बढ्ने संकेत दिएका छन् । उनले घुमाउरो किसिमले दलको नेतामा प्रतिस्पर्धा नगरी आफ्नो नाममा सर्वसम्मत बनाउन पौडेलको सहयोग मागेका थिए ।

सर्वसम्मत जुट्ने अवस्था नभएमा केन्द्रीय सदस्य प्रकाशमान सिंह र रामशरण महतलगायत नेताहरूले पौडेललाई ‘हार्ने चुनाव’ लड्न नहुने सुझाव दिएका छन् ।