काठमाडौं- सुत्केरी आमाको मृत्यु भएपछि नवजात शिशुलाई बाबुले अस्पतालमै छोडेर गएपछि अस्पताल प्रशासन समस्यामा परेका छन् । नवजात शिशुलाई आफू एक्लैले पाल्न नसक्ने भन्दै बाबु वीरबहादुर मल्लले जिल्ला अस्पतालमै छोडेर गएका छन् । अस्पतालका अनुसार घरमा सानासाना दुई छोरा र तीन छोरी रहेकाले नवजात शिशुलाई आमाको मृत्युपछि घरमा लगेर पाल्न नसक्ने बीरबहादुरले बताएका छन् ।
वीरबहादुरलाई सम्झाएर बच्चा जिम्मा लगाउने प्रयास भइरहेको जिल्ला अस्पतालकी आमा सुरक्षा कार्यक्रम फोकल पर्सन सरोजा घिमिरेले बताइन् । उनले बताइन् ‘शिशुमा जन्डिस देखापरेको छ । यो त निको होला तर उसलाइ दूध कसरी खुवाउने भन्ने समस्या छ । फोतु-३ की जनकला मल्ल आइतबार घरमै सुत्थ्केरी भएकी थिइन् तर साल नझरेपछि छिमेकी गाविस नार्थपुमा रहेको इलाका स्वास्थ्यचौकीमा लगिएको थियो ।
त्यहाँ पनि साल नझरेपछि बिहीवार जिल्ला अस्पताल ल्याइएकी उनको राति मृत्यु भयो ।मृतक ३५ वर्षीया जनकलाको कोखबाट नवजात शिशुसहित ६ सन्तान जन्मिएका छन् । चारवटा गर्भ खेर गएको उनका आफन्तले बताए ।






