यौन दुराचार समस्या रोक्ने प्रस्ताव पारित

rapeकाठमाडौँ- संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले शान्तिस्थापक सैनिकबाट हुने यौन दुराचारको समस्या सम्बोधन गर्न पहिलोपटक प्रस्ताव अनुमोदन गरेको छ ।

दुराचारको विश्वसनीय प्रमाण भेटिए सैनिक वा प्रहरी टोली नै फिर्ता पठाउन सकिने राष्ट्रसंघीय महासचिव बान की मुनको योजनालाई पछिल्लो प्रस्तावले समेटेको छ ।

सुरक्षा परिषद्का १४ सदस्यले प्रस्तावको पक्षमा मतदान गरेका थिए तर उक्त प्रस्तावमा आफ्नो संशोधन अस्वीकृत भएपछि इजिप्टले भने मतदानमा भाग लिएन ।

राष्ट्रसंघका लागि अमेरिकी राजदूत समन्था पावरले भनिन्, “यो प्रस्तावले त्यस्ता शान्तिस्थापक सैनिक, जो यौन शोषणका दोषी हुन ती शान्ति स्थापना मिसनमा काम गर्न योग्य छैनन् भन्नेमा जोड दिएको छ ।”

निर्दोष
केही मुलुकले भने सामूहिक सजायका कारण निर्दोष सैनिकसमेत त्यसको मारमा पर्ने सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

गत वर्ष राष्ट्रसंघका विभिन्न १० वटा शान्ति मिसनमा बालबालिकामाथि बलात्कार र यौन दुराचारका ६९ वटा आरोपहरु लगाइएका थिए ।

सन् २०१४ मा त्यस्ता आरोपको संख्या ५२ थियो ।

राष्ट्रसंघीय मिसनमा खटिएका सेना, अन्तर्राष्ट्रिय प्रहरी, अन्य कर्मचारी र स्वयंसेवकहरुमाथि त्यस्ता आरोपहरु लगाइएका थिए ।

आलोचना
राष्ट्रसंघको नीतिअनुसार उसको झण्डामुनि काम गर्ने शान्ति स्थापक सेनामाथि दुर्व्यवहार गरेको आरोप लागे सम्बन्धित मुलुकलेनै अनुसन्धान गर्नुपर्ने र मुद्दा चलाउनुपर्ने व्यवस्था छ ।

तर, यौन दुर्व्यवहारसम्बन्धी आरोपबारे तत्काल कारवाही गर्न नसकेको भन्दै राष्ट्रसंघको आलोचना हुँदै आएको छ ।

राष्ट्रसंघीय मिसनका लागि सबैभन्दा बढी रकम दिने अमेरिकाले पछिल्लो प्रस्ताव तयार पारेको हो ।