लाप्राक पुनःनिर्माणमा एनआरएनले सघाउने

laprakगोरखा- गत वैशाख १२ गते गएको विनाशकारी भूकम्पले ध्वस्त भएको गोरखाको लाप्राक गाउँ पुनःनिर्माणमा एनआरएनले सघाउने भएको छ ।

अस्टे«लियन सिनेटर श्याम पास्टोरी, पुनःनिर्माण प्राधिकरणका सदस्य चन्द्रबहादुर श्रेष्ठ, अस्टे«लियाका लागि अवैतनिक वाणिज्यदूत दीपक खड्कासहितको टोली लिएर सोमबार लाप्राक पुगेका एनआरएन अध्यक्ष शेष घलेले लाप्राक गाउँ पुनःनिर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।

श्रीएअरको दुईवटा हेलिकप्टरमा गएको उक्त टोलीले गुप्सीपाखा र पुरानो लाप्राक गाउँ पुगेर भूकम्पपीडितको अवस्था र इच्छाबारे चासो बुझेका थिए ।

‘सरकारले अनुमति दिन ढिलाइ गरेपछि हामीले घर बनाउन पाएनौँ,’ घलेले भन्नुभयो, ‘हामी छिट्टै व्यवस्थित लाप्राक बनाउन चाहन्छौँ ।’ एनआरएनले लाप्राक गाउँमा ५०० वटा भन्दा धेरै व्यक्तिगत घर, विद्यालयलगायत सार्वजनिक महत्वका भवन निर्माण गर्ने तयारी गरे पनि सरकारले अनुमति दिएको छैन ।

पुनःनिर्माण प्राधिकरणका सदस्य चन्द्रबहादुर श्रेष्ठले प्राधिकरणले फटाफट काम सुरु गरेकाले सकेसम्म बर्खाअघि नै नयाँ घर बनाउन अनुदान दिने बताउनुभयो ।