
काठमाडौं- नेपाली कांग्रेसका नेता गगन थापाले अबको १५ वर्षपछि राजनीतिबाट सन्यास लिने घोषण गरेका छन् । आगामी १५ वर्षमा गगनको उमेर ५५ वर्षको हुनेछ ।
विद्यार्थी राजनीतिबाटै चर्चामा आएका गगनले महाधिवेशनको पूर्वसन्ध्यामा यस्तो घोषणा गरेका हुन् । पोखरामा भएको साहित्य सम्मेलनमा पनि उनले यस्तै घोषणा गरेका थिए । गगन अहिले ४० वर्षका भए ।
गगनले अबको १५ वर्ष देशका लागि आफूलाई समर्पित गर्ने र ५५ वर्ष उमेर पुगेपछि मन्त्री वा सांसद नहुने र कार्यकारी पदमा नबस्ने घोषणा गरेका छन् ।
‘मैले यो निर्णय लिएँ कि ५५ वर्ष (२०८८ साल) देखि राजनीतिको कार्यकारी पदमा नबस्ने,’ काठमाडौंका पत्रकारहरुसित बुधबार उनले भने, ‘५५ वर्षसम्म राजनीतिमा जे-जति जिम्मेवारी लिने हो कोसिस गर्छु, यसो गर्न अझै मलाई १५ वर्ष छ ।’
गगन दुईपटक सांसद भइसके । दोस्रो संविधानसभामा काठमाडौं ४ बाट निर्वाचित उनी १२ औं महाधिवेशनमा सबैभन्दा बढी मत ल्याएर कांग्रेसको केन्द्रीय सदस्य पनि भएका थिए ।






