काठमाडौं- सभापतिमा उम्मेदवारी घोषणा गरेका रामचन्द्र पौडेलले अनलाइनबाट चन्दा संकलन थालेका छन् ।
नेताले जनताबाट भोट र आफूखुसी शक्तिकेन्द्रबाट चन्दा लिने गरेको भन्दै उनले पारदर्शिता र इमानदार राजनीतिका लागि इन्टरनेमार्फत चन्दा मागेको दाबी गरेका छन् । अन्तर्राष्ट्रिय रूपमा पनि यस्तो अभ्यास पहिलेदेखि नै हुने गरेको छ । इन्टरनेट साइट ‘गो फन्ड मी’मार्फत पौडेलले चन्दा संकलन सुरु गरेका हुन् । ‘तपाईंको सानो योगदानले रामचन्द्र पौडेललाई सभापति बनाउन सक्छ,’ भन्दै उनले अभियान चलाएका हुन् ।
पर्चा, पम्प्लेट, टिभी विज्ञापन, अभियानमा बन्दोबस्तीलगायतका तयारीका लागि ३० लाख ८६ हजार दुई सय रुपैयाँ आवश्यक भएको उनको भनाइ छ । उनलाई सोमबारसम्म ४६ हजार रुपैयाँ चन्दा प्राप्त भएको छ । पौडेलका छोरा चिन्तनले अन्तर्राष्ट्रिय अभ्यास र पारदर्शिताका लागि इन्टरनेटमार्फत सहयोग मागिएको बताए ।
‘पार्टी र नेताहरू ठूला कार्यक्रम गर्छन्, तर ठूलो रकम कहाँबाट आउँछ भन्ने स्रोत खुलेको हुँदैन,’ चिन्तनले भने, ‘हामीले खर्चको पारदर्शी व्यवस्थापन गर्दै छौँ ।’






