एन.आर.एन. यु के भित्रको विवादको आगोमा घिउ थप्दै शेष घले

लण्डन ।  बेलायत भ्रमणमा आएका एनआरएन आइसीसी अध्यक्ष शेष घलेले एनआरएन युकेभित्रको विवादको आगोमा घिउ थपिदिएका छन । युके अध्यक्ष महेन्द्र कंडेलसहित सिंगो कार्यसमितिलाई नै वेवास्ता गर्दै घलेले सहअध्यक्ष योगेन क्षेत्री गुटसंग रात्रीभोज गरेपछि दुई पक्षबीचको तिक्तता बढने खतरा बढेको छ । पछिल्ला दिनहरुमा सहमति निर्माणको लागि सकारात्मक पहल भइरहेको सन्दर्भमा अध्यक्ष घलेले एक पक्षलाई मात्र बोकेर विवादलाई नै मलजल गरेको भन्दै यहांका एनआरएन अगुवाहरु पनि रुष्ट भएका छन । त्यस्तै अनौपचारिक भेटघाटका लागि भन्दै निम्तो पठाइएको तर पछि एनआरएन युकेको ब्यानर झुड्याएर औपचारिक कार्यक्रम देखाउने प्रयत्न भएको भन्दै भोजमा सहभागीहरुले समेत आपत्ति प्रकट गरेका छन ।
तमु धिं युकेको शनीबारको ल्होसार कार्यक्रममा भाग लिन बेलायत आएका घलेको सम्मानमा शुक्रबार योगेन क्षेत्री समुहले तमु धि भवन मिचेटमा रात्रीभोज आयोजना गरेको थियो । घले निकट भनिने डम्बर घलेको डिजाइनमा गरिएको रात्रीभोजमा उनीहरुको रोजाइमा परेका केहि आईसीसी सदस्य, सल्लाहकार एवम युकेका एनआरएन अगुवाहरुलाई निम्तो गरिएको थियो । सुरुमा अनौपचारिक भोज भनेर सबैलाई निम्तो गरिएको भएपनि भोजस्थलमा एनआरएन युकेको ब्यानर नै झुण्ड्याएर औपचारिक शैलीको कार्यक्रम गरिएको थियो । कार्यक्रममा सहभागी एक आईसीसी सदस्यले भने,सुरुमा अनौपचारिक नै थियो,डम्बर घलेले सञ्चालन गरिरहेका थिए, तर पछि योग फगामी र संिगता मरहटठाले एनआरएनको ब्यानर झुण्ड्याएर औपचारिक कार्यक्रम गर्न थाले ।
एनआरएन युकेको नाम देखाएरै गरिएको रात्रीभोजबारे अध्यक्ष महेन्द्र कंडेलसहितको सिंगो कार्यसमितिलाई भने कुनै जानकारी नै गराइएको थिएन । ‘कार्यसमितिका कसैलाई पनि थाहा नदिई कार्यक्रम गरिएको छ,’ अध्यक्ष कंडेलले भने, ‘अध्यक्षको सम्मानमा हामी संस्थाकै तर्फबाट पनि कार्यक्रम गर्न सक्थ्यौं, व्यक्तिगत वा गुटगत आधारमा कार्यक्रम आयोजना हुनु दुखद छ ।’ आईसीसी अध्यक्षले पनि संस्थालाई बिर्सिएर व्यक्तिका पछि दगुर्ने काम नगरेकै भए समाजमा राम्रो सन्देश जाने उनको धारणा छ ।
अनौपचारिक भेटघाट भनेर कार्यक्रममा पुगेका आईसिसी सल्लाहकार तथा सदस्यहरुले पनि आफुहरुलाई झुक्याएर औपचारिक कार्यक्रम गरिएको भन्दै सो कार्यक्रममा आफनो सहमति नभएको बताएका छन । सल्लाहकार विश्वआदर्श पण्डितसंगै आईसीसी सदस्यहरु कुल आचार्य, थर्क सेन, पशुपति भण्डारी र सुरेन्द्र श्रेष्ठले आफुहरु अनौपचारिक भेटका लागि भनेर मात्रै गएको बताए ।
सल्लाहकार विश्वआदर्श पण्डितले आफुहरुलाई अनौपचारिक कार्यक्रम भनेर निम्तो गरिएको तर पछि कार्यक्रम औपचारिक गरिएको भन्दै आश्चर्य व्यक्त गरे । सिंगो कार्यसमितिलाई नै बेखबर राखेर एनआरएकै नाममा कार्यक्रम गरिनु हास्यास्पद भन्दै उनले भने,’सुरुमा अनौपचारिक भनेर झुक्क्याए, संस्थाको नाम झुण्ड्याएर व्यक्तिगत कार्यक्रम गर्ने भनेको भए को जान्थ्यो र ?’ उनलाई डम्बर घलेले अध्यक्ष घलेसंग अनौपचारिक भेटघाटका लागि भन्दै आमन्त्रण गरेका थिए ।
अर्का आईसीसी सदस्य एवम एनआरएन युकेका पूर्व अध्यक्ष कुल आचार्यलाई पनि अनौपचारिक भोजकै निम्तो आएको थियो । ‘म भोज सुरु हुनुभन्दा पहिल्यै पुगेपनि अरु व्यक्तिगत कामका कारण छिट्टै निस्किनुपरयो, कार्यक्रम कस्तो भयो, थाहा भएन’ आचार्यको भनाइ थियो, ‘तर यदि कार्यसमितिलाई बाहिर राखेरै संस्थाको नामबाट कार्यक्रम गरिएको हो भने, त्यो आपत्तिजनक छ । ‘
एनआरएन युकेभित्रको विवाद छानबिनका लागि गठित आईसीसीको छानबिन समतिको प्रतिवेदन पनि छिट्टै सार्वजनिक हुने अपेक्षा छ । यहांका आइृसीसी सदस्य,सल्लाहकारलगायतका अगुवाहरुबीच केहि साता पहिले दुतावासमा सम्पन्न बैठकमा पनि छानबिन समितिलाई २९ सेप्टेम्बरकै सहमतिको पक्षमा प्रतिवेदन तयार गर्न सुझाव दिने समझदारी भएको थियो । यहि सन्दर्भमा बेलायत आएका अध्यक्ष घलेले एक पक्षलाई मात्र सहानुभुति राख्दा सहमतिको वातावरण खलबलिने धेरैको चिन्ता छ ।