- वासुदेव पौडेल
पोखरा- सत्ययुगमा भगवान् रामचन्द्र र सीताजीले वनभोज खाएको स्थानका रूपमा मानिने पोखरा उपमहानगरपालिका–१७ स्थित ढुङ्गे साँघुमा भोलि माघे सङ्क्रान्ति मेला लाग्ने भएको छ ।
प्राचीनकालदेखि सञ्चालन हुँदै आएका पोखराका प्रसिद्ध धार्मिक मेलामध्येको यो मेला भर्न कास्कीका साथै छिमेकी जिल्ला स्याङ्जा, पर्वतलगायतका स्थानबाट पनि सर्वसाधारण आउने गर्छन् ।
मेलाको व्यवस्थापन सदाशिवजी सिद्धेश्वर हरिहर मन्दिर व्यवस्थापन समितिले गर्दै आएको छ ।
समितिका अध्यक्ष एवम् मेला आयोजक समितिका संयोजक ऋषिराम भण्डारीका अनुसार मेलामा पोखरा र यस आसपासका विभिन्न स्थानबाट लगभग एक लाख ५० हजारको सङ्ख्यामा भक्तजन आउने गरेका छन् ।
धार्मिकरूपले विशिष्ट मानिने यो मेलामा सहभागी हुन आउने भक्तजनले यहाँस्थित सेती नदीमा माघे स्नान गरी आसपासका मठमन्दिरमा दर्शन गर्ने गर्दछन् ।
यहाँस्थित सदाशिवजी सिद्धेश्वर मन्दिर अति प्राचीन धार्मिक तीर्थस्थल हो । प्राप्त प्रमाणका आधारमा विसं १८६४ मा निर्माण गरिएको मानिने यो मन्दिरको पोखरा उपमहानगरपालिका–१७ बिरौटामा २९ रोपनी १२ आना गुठी जग्गासमेत रहेको छ ।
मन्दिरको गुठी जग्गा व्यावसायिक रूपमा भाडामा दिइएकामा त्यसबापत वार्षिक तीन लाख १४ हजार आम्दानी हुने गरेको छ ।
आम्दानी मन्दिरको संरक्षण एवम् सामाजिक कार्यमा लगानी गर्ने गरिएको अध्यक्ष भण्डारीको भनाइ छ ।
पोखराको बीच भागबाट बगेको सेती नदीमाथि रहेको ढुङ्गाको प्राकृतिक पुल यहाँको अर्को महत्वपूर्ण आकर्षण हो ।
अनौठो आश्चर्यका रूपमा रहेको ढुङ्गाको साँघुकै कारण यस ठाउँलाई ढुङ्गेसाँघु भनिएको स्थानीयवासी डिल्लीराम भण्डारीले बताउनुभयो ।
भण्डारीका अनुसार सत्ययुगमा माघे सङ्क्रान्तिकै दिनमा यही ठाउँमा आएर भगवान् रामचन्द्र र सीताले वनभोज खाएको जनविश्वास अझै पनि कायमै छ ।
उक्त समयमा सीता हिँडेका कारण यहाँस्थित पाइला आकारको शिलालाई सीताको पाइलाका रूपमा पूजा गर्ने गरिन्छ ।
विभिन्न रमणीयस्थलका साथै प्राकृति बगैँचाका रूपमासमेत रहेको यो स्थलमा विगतमा विभिन्न आँपका बोट रहेको र एउटै बोटमा चार पाँच जातका आँप फल्ने गरेको बूढापाका बताउँछन् ।
यसै क्षेत्रमा २०५६ सालमा फेला परेको अकलादेवीको प्राकृतिक मन्दिर अर्को धार्मिक आकर्षण हो ।
हरिहर मन्दिरका तत्कालीन पुजारी ऋषिराम पराजुलीलाई र स्थानीयवासी देवीराम भण्डारीलाई सपनामा अकलाको मन्दिर रहेको चेष्टा भएपछि गएर हेर्दा अकलाको स्वरूप फेला परेको थियो ।
खोच भएका कारण अकलाको प्राकृतिक मन्दिर रहेको ठाउँमा पुग्न निकै असजिलो हुने भएका कारण त्यसको संरक्षणका साथै स्थानीयवासीले अकलाकै स्वरूपमा दर्शन गर्न सक्ने गरी खोचको तल मन्दिर निर्माण गरेका छन् ।
धार्मिक रूपमा जोडिएको मेला स्थानीय उत्पादन खरिद बिक्री गर्ने मेलाका रूपमासमेत उपयोग हुने गरेको छ ।
स्थानीय रूपमा उत्पादन हुने तरुल, सखरखण्ड, पिँडालुजस्ता खाद्य सामग्रीका साथै चोयाबाट बन्ने भकारीजन्य सामान, माटोका सामान, फलामका सामान आदिको मेलामा व्यापार हुने गरेको छ ।
घरमा आवश्यक सामान किन्नका लागि पनि धेरै सर्वसाधारण ढुङ्गेसाँघुको मेलालाई कुर्ने गरेको कास्की भरतपोखरीका वैकुण्ठ सुवेदीले बताउनुभयो ।
सुवेदीका अनुसार ढुङ्गेसाँघुको मेला प्राचीनकालदेखि नै कास्कीको महत्वपूर्ण धार्मिक सांस्कृतिक मेलाका रूपमा विकास भएको छ ।
प्राचीन संस्कृतिसँग जोडिएका यस्ता मेलालाई संरक्षण र विकास गर्न सरकारी तबरबाट पनि चासो दिनुपर्ने उहाँले बताउनुभयो । –रासस






