महन्थ ठाकुरद्वारा नाकाबन्दी खोल्ने स्पष्ट संकेत

mahantha thakur
काठमाडौं- तराई मधेस लोकतान्तिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले आगामी पुस १९ गतेपछि बस्ने संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठकमा नाकाबन्दी अन्त्य गर्ने सहितको विषयमा छलफल हुने बताएका छन ।

‘मोर्चाले समय समयमा आन्दोलनको स्वरुप परिवर्तन गर्दै आएको छ । अहिले पुस १९ गते सम्मको कार्यक्रम चलिरहेको छ,’ काठमाडौंमा मंगलबार पत्रकारहरुसित ठाकुरले भने, ‘त्यसपछि बस्ने मोर्चाको बैठकमा नाकाबन्दी अन्त्यसहितका एजेण्डाहरुमा छलफल हुन सक्छ ।’

अध्यक्ष ठाकुरले आफूहरुको ११ बुँदे प्रस्तावमा बुँदा गत रुपमा छलफल गर्दै सहमति भएका विषयलाई एकातिर राखेर सहमति नबनेका विषयमा छलफल गर्दै जानु पर्ने भन्दै राज्यले विश्वासिलो बातावरण बनाए तीन महिनामा सीमांकन मिलाउने विषयमा पनि सहमति हुन सक्ने संकेत गरे ।

उनले भने, ‘तीन महिनामा सीमांकन मिलाउने विषयमा हामीलाई विश्वास दिलाउन सक्नु पर्‍यो नि । अहिलेसम्म भएका लिखित सहमतिको उल्लंघन भएको छ । तीन महिना भन्दा भन्दै चार महिना भइसक्यो कुरा मिलाएको भए भइहाल्थ्यो नि । संविधानको प्रस्तावनादेखि अन्त्यसम्म हामीमाथि विभेदै विभेद छ । त्यहाँ जनयुद्ध राख्न हुने मधेस आन्दोलन राख्न किन नहुने ? यस्तो अवस्थामा कसरी विश्वास गर्नु ? संसदमा सडकमा पनि पेलिरहेका छन, संसदमा पनि पेलिरहेका छन् ।’

अध्यक्ष ठाकुरले सरकारले बार्ताबाट समस्याको समाधान नचाहेकोले अहिलेसम्म समाधान नभएको भन्दै कांग्रेस र एमाओवादीसँगको वार्ता पनि कुनै निष्कर्षमा पुग्न नसकेको बताए ।