इन्धन अभावले बैंकिङ क्षेत्र नराम्ररी प्रभावित

bank
काठमाडौं– भारतले लगाएको लामो समयको नाकाबन्दी र तराई मधेसमा जारी बन्द हड्तालले बैंकिङ क्षेत्र नराम्ररी प्रभावित भएको छ ।

ऊर्जा कटौतिको समस्याले बैकिंग क्षेत्रलाई थप आक्रान्त बनाएको छ । भनेको समयमा विद्युत आपूर्ति नहुने, जेनेरेटर चलाएर सेवा सुचारु गरौं भन्दा इन्धन सहज ढंगले नपाइने, विद्युतको अनियमित आपूर्तिले इन्भर्टरजस्ता उपकरण बिग्रने र त्यस्ता उपकरण मर्मतका लागि सामान किन्न बजारमा जाँदा सामान नै नपाइने अवस्था देखिएको छ ।

यी र यस्ता कारणहरुले बैंकहरुले भटाभट आफ्नो सेवामा कटौति गरिरहेका छन् भने कतिपयको कर्जा असूली, नाफा लगायतका शीर्षकहरुमा समेत ठूलो क्षति देखिइन थालेको छ । सञ्चालन खर्च बढ्दै जानु, तर आम्दानी चाहि निराशाजनक रुपमा घट्नुले कतै बैंकहरु डामाडोलकै अवस्थामा त पुग्ने होइनन् भन्ने चिन्ता थपिएको छ ।

कर्मचारीको परिचालनदेखि लिएर साबिककै सेवालाई निरन्तरता दिन बैंकहरुले छाडेका छन् । लामो समयको नाकाबन्दी र लोडसेडिङको प्रभावका कारण काठमाडौं र अन्य ठूला सहरमा खोलिएका बैंकका इभिनिङ काउण्टर बन्द गरिएको छ ।