काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘विधवा’ भन्दै जनकपुरमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताले गरेको अपमानविरुद्ध व्यवस्थापिका–संसदमा सबैजसो दलका सांसदहरुले आपत्ति प्रकट गरेका छन् ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा आबद्ध सांसदहरुको नाराबाजीबीच केहीबेर बसेको संसद बैठकमा सत्तारुढ र विपक्षी दलका सांसदहरुले राष्ट्रपतिमाथि भएको अपमानको विरोध गरेका हुन् । उनीहरुले राष्ट्रपतिमात्र नभई सिङ्गो महिलाहरुको अपमान गर्ने काम भएको भन्दै घटनाका दोषीलाई सरकारले कारवाही गर्न नसकेको भन्दै आलोचना गरेका छन् ।
मोर्चाआबद्ध बाहेक सत्तारुढ र विपक्षी सबै दलका सांसदहरुले राष्ट्रपतिलाई अपमानित गर्नेहरुमाथिको कारबाही प्रक्रिया कहाँ पुग्यो भनेर आवाज उठाएपछि सभामुख ओनसरी घर्तीले संसदको अर्को बैठकमा त्यसबारे जानकारी गराउन सरकारलाई निर्देशन दिएकी छन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले विवेक शुन्य भएका मानिसहरुले राष्ट्रपतिको अपमान गरेको आरोप लगाए । सांसद खतिवडाले एकताको प्रतिकका रुपमा रहने राष्ट्राध्यक्षको अपमान गर्ने काम विवेक भएको व्यक्ति र पार्टीले गर्नै नसक्ने बताए ।
सत्तारुढ दल एमालेकी सांसद सुशीला नेपालले राष्ट्रपतिप्रति जनकपुरमा गरिएको व्यवहारको जति निन्दा गरे पनि कम हुने भन्दै एकल महिला भएकै कारण राष्ट्रपतिको अममान गरिनु राष्ट्रकै बेइज्जती भएको बताइन् । उनले यो घटनामा सरकार उदासिन भएको भन्दै तत्काल दोषीलाई कारबाही गर्न माग गरिन् ।
एमाओवादी सांसद सीता नेपालीले महिला भएका नाममा अहिले राष्ट्रपतिमाथि त यस्तो अपमान गरिन्छ भने दुर–दराजमा महिलाको अवस्था के होला भनि प्रश्न गरिन् । उनले राष्ट्रपतिप्रति नै यस्तो व्यवहार हुँदा पनि सरकार के हेर्दैछ भनि प्रश्न गरिन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका सांसद कान्ता भट्टराईले जहाँ नारीको सम्मान हुँदैन त्यहाँ विकास पनि हुँदैन भन्दै जनकपुर घटना धार्मिक, सांस्कृतिक कुनै पनि रुपमा क्षमायोग्य नभएको बताइन् ।
संसद बैठकमा नेकपा माले, नेकपा संयुक्त, मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) लगायतका सांसदहरुले समेत घटनाको विरोध गरेपछि सभामुख ओनसरी घर्तीले त्यसबारे अर्को बैठकमा जवाफ दिन सरकारलाई निर्देशन दिइन् ।







