काठमाडौं- सरकार र संघीय समावेशी मधेसी गठबन्धन बीच मंगलबार साँझ भएको वार्ता सौहाद्रपूर्ण वातावरणमा सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ७ बजे देखि भएको वार्ता दुई घण्टा चलेको थियो ।
वार्तामा गठबन्धनले विगतमा राखेको नौ बुँदे माग प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुनस्मरण गराएको थियो । प्रधानमन्त्री ओलीले कुनै दल, समुदाय वा क्षेत्र भन्दा देश ठूलो भएकोले सबैले देशका लागी सोचेर काम गर्नुपर्ने बताउनुभयो । ओलीले गठबन्धनका नेताहरुलाई शान्ति, लोकतन्त्र, सामाजिक न्याय, समृद्धि र राष्ट्रिय एकताका पक्षमा उभिन आग्रह गर्नुभएको छ । गठबन्धनले सरकार समक्ष पेश गरेको ध्यानाकर्षण पत्रमा पुनर्विचार गर्न प्रधानमन्त्री औलीले आग्रह गर्नुभएको छ ।
सरकार र गठबन्धन बीचको वार्तामा ठोस र सबैलाई मान्य हुने प्रस्ताव ल्याउनका लागि दुवै तर्फबाट दुई दुई जना रहने एक समिति गठन गर्ने सहमति भएको छ । छलफलमा प्रधानमन्त्रीले ब्यक्त गरेका धारणा र गठबन्धनका धारणालाई संयोजन गरेर समितिले थप गृहकार्य गरी अर्को वार्ता गर्ने सहमति भएको छ ।
वार्तामा सरकारका तर्फबाट प्रधानमन्त्री ओली, उपप्रधान तथा रक्षा मन्त्री भीम रावल, एमालेका वरिष्ठ नेता झलनाथ खनाल गठबन्धनका तर्फबाट तराई मधेस राष्ट्रिय अभियानका संयोजक जय प्रकाश गुप्ता, नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झा, मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव, राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारी लगायत हुनुहुन्थ्यो ।






