पोखरा- कृषि विकास मन्त्री हरिबोल गजुरेलले देशले चरम सङ्कट भोगेका बेला अहिलेको सरकारको विकल्पमा अर्को सरकार बन्न नसक्ने बताउनुभएको छ ।
क्रान्तिकारी पत्रकार सङ्घ कास्कीले आइतबार बिहान पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री गजुरेलले नेपाली जनताले नाकाबन्दी छिटो खुलोस्, मधेसी मोर्चा र सरकारबीचको वार्ता सफल होस् र इन्धन तथा खाद्यान्नको आपूर्ति सहज होस् भन्ने मात्रै चाहेको उल्लेख गर्नु भयो ।
सरकार परिवर्तन होस् भन्ने चाहना जनताको छैन भन्दै उहाँले यसै सरकारमा नेपाली काँग्रेस पनि सहभागी भएको भए मुलुकले भोगिरहेको सङ्कट छिटो समाधान हुने थियो भन्नु भयो ।
पत्रकारको एक प्रश्नको जवाफमा मन्त्री गजुरेलले नातावाद र कृपावाद पञ्चायतकालदेखिकै रोग हो र नयाँ संविधान जारी भएपछि पनि यो रोग सबै पार्टीबाट हट्न नसकेकामा चिन्ता व्यक्त गर्नुभयो ।
उहाँले एकीकृत नेकपा (माओवादी)मा रहेका दुई चार मन्त्री र पाँच सातजना नेतालाई कारबाही नगरेसम्म पार्टी सुध्रिँदैन भनेर आफूले पार्टीको केन्द्रीय समितिको बैठकमा बोलेको स्मरण गराउनुभयो ।
मन्त्री गजुरेलले देशले भोगिरहेको नाकाबन्दी केही दिनभित्र हट्ने र देशमा इन्धनलगायत अत्यावश्यक वस्तुको आपूर्ति सहज हुने र यसका लागि मधेसवादी दल पनि सकारात्मक देखिएको जानकारी दिनुभयो ।







