इन्डोनेसियाबाट सिंगापुरतर्फ उडेको सम्पर्कविहीन एयर एसिया विमान अझै वेपत्ता छ । चालक दलका सात तथा एक सय ५५ यात्रु बोकेर उडेको विमान मौसम खराबीका कारण सम्पर्कविहीन भएको जनाइएको छ । जाभा समुद्रमाथिको आकासमा रहँदा सम्पर्कविच्छेद भएको विमान समुद्रमा खसेको शंकामा खोजीमा जुटेको टोलीले खराव मौसम र अध्यारो भएसंगै खोजीकार्य स्थगित गरेको छ ।
सम्पर्क विच्छेद हुनुअघि विमानले मार्ग परिवर्तनका लागि अनुमति मागेको थियो । सुराबाया शहरबाट उडेको क्यूजेड ८५०१ विमानको कन्ट्रोल रुमसँग स्थानीय समय अनुसार बिहान ७ बजेर २४ मिनेटमा सम्पर्क टुटेको थियो ।
विमानमा सवार ६ जनाबाहेक सबै यात्रु इन्डोनेसियाका हुन् । ६ जनामा दक्षिण कारियाका तीन तथा फ्रान्स, मलेसिया र सिंगापुरका एक-एक जना नागरिक हुन् ।
यसअघि मलेसियाको राष्ट्रिय ध्वजावाहक दुई वटा मलेसिया विमान यसै वर्ष मात्र दुर्घटनामा परेका थिए । गत मार्चमा २ सय ३९ यात्रु बोकेर क्वालालाम्पुरबाट चीनको बेइजिङतर्फ लागेको एमएच ३७० विमान अहिलेसम्म वेपत्ता छ भने एमएच १७ लाई यूक्रेनका बिद्रोहीले खसाल्दा २ सय ९८ जना मारिएका थिए ।
एयर एसिया विमानको खोजी कार्य स्थगित






